मिथिलामा ‘जुड–शीतल’ पर्वको आज ‘सतुवाइन’

महोत्तरी, वैशाख १ गते ।

विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘जुड–शीतल’ पर्वको उमङ्ग छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने ‘जुड–शीतल’ पर्वको पहिलो दिन आज मैथिल (मिथिलाका बासिन्दा) ‘सतुवाइन’ मनाउँदै छन् । दुई दिन मनाइने ‘जुड–शीतल’ पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ भनिने मैथिल परम्परा छ ।

नयाँ वर्ष प्रारम्भसँगै बढ्दो गर्मीबीच जीवनमा शीतलताको कामना गर्दै मनाइने ‘जुड–शीतल’ पर्वको पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरी खाद्यान्नको सातु र माटोको अङ्खरामा सक्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिने चलन छ । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । यसै परम्पराअनुसार आज मिथिलामा ‘सतुवाइन’ मनाइँदै गरिएको हो ।

सौरमास गणनाले विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै मनाइने दुईदिने यो पर्वको नाउँ ‘जुड’ र ‘शीतल’ जोडेर ‘जुड–शीतल’ बनेको पाका मैथिल बताए । जीवनलाई शीतलतासँग जोड्ने भावमा यो पर्वलाई ‘जुड–शीतल’ भनिएको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताए । यो पर्वले सुपाच्य र आँतलाई शीतलता दिने खाद्यपदार्थको प्रयोगमा जोड दिएको झाको भनाइ छ । जौ, चना, कँगनो, मुँग र गहुँसहितका खाद्यान्न पोषणयुक्त र सुपाच्य मानिन्छन् । गर्मी याममा यी खाद्यान्नका परिकारले स्वास्थ्य अनुकूल रहने सन्देश यो पर्वले प्रवाह गर्ने पाका मैथिलको मत छ ।

पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते घर÷घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् । नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको वैष्णवको भनाइ छ । मिथिलामा ‘जुड–शीतल’ पर्वमा बन्ने सबै परिकार कुलदेवतालाई चढाइन्छ । कुलदेवताको पूजा गरिने थोरै पर्वमध्ये ‘जुड–शीतल’ पर्दछ ।

सहकालको प्रतीक मानिने यो पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिल साथीसँगीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने परम्परा छ । नयाँ वर्ष प्रारम्भमै धुलो र हिलो खेल्ने यो परम्पराले कृषिकर्ममा निरन्तर जुटिरहन प्रेरित गरेको पाका मैथिल बताउँछन् । “धुलो, हिलो त किसानको जीवन नै हो नि १ नयाँ वर्षसँगै प्रकृतिसँग कामको कमी नहोस् भन्ने पनि पर्व र यो परम्पराको सन्देश हो”, भङ्गाहा–५ सीतापुरबजारस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहर यादव भन्नुहुन्छ । यस पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । यस दिन किसान आफ्नो खेतबारी डुल्ने पनि मैथिल परम्परा छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको पाका मैथिल बताए । नयाँ वर्षको प्रारम्भ नै कृषिसँग जोडेर पूर्वजहरुले ‘कृषि मूलश्च जीवनम्’ भन्ने सन्देस पर्वमार्फत दिन चाहेका बलवा–१० धमौराका बासिन्दा मिथिला लोकसंस्कृतिका ज्ञाता ७५ वर्षीय कामेश्वर झा बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको