काठमाडौँ, वैशाख २१ गते ।
बूढानीलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन् ।
बूढानीलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा भएको पुरुष ६० किलो प्रतिस्पर्धामा मिलनले थाइल्याण्डका असादा रक्मितलाई दोस्रो राउन्डमा नकआउट गरे । मिलनले रु एक लाख र असादाले ९०० अमेरिकी डलर पुरस्कार हात पारे ।
गोल्फुटारमा भएको उक्त प्रतियोगिताको पुरुष ५२ किलोमा नेपालका योमन मोक्तानले नेपालकै कुञ्जन घिमिरेलाई हराए । यस्तै ५४ किलोतर्फ नेपालका पुरनजित राईले सफलता पाए । उनले भारतका स्खेम्बोर्लाङ मार्वेनलाई पाखा लगाए । युैगरी ७० किलोतर्फ नेपालका महेन्द्र गज्मेरले बाजी मारे । उनले नेपालकै रोनिश सुब्बालाई पन्छाए ।
नेपाल राष्ट्रिय मुवाँथाईं सङ्घको प्राविधिक सहयोग तथा गलाक लाइफ स्टायलको व्यवस्थापनमा भएको सो प्रतियोगिताको पुरुष ५७ किलोमा नेपालका गुमन घर्ती मगरले जित हात पारे । उनले भारतका बरेम्रोन डेनियललाई हराएका हुन् । पुरुष ६० किलोमा नेपालका गौतम थिङले भारतका याइमा लाईलाई हराउँदै उपाधि जिते । यस्तै ६७ ककिलोमा नेपालका सन्तोष खत्रीले भारतका असेम तोन्डोन्बालाई पराजित गरे ।
बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा भएको उक्त प्रतियोगिताको महिला ६० किलोमा नेपालकी सारिका धमला तथा ५१ किलोमा नेपालकै सुस्मिता थापा विजयी भए । सारिकाले भारतकी जेनिस्ता निन्गोम्बम तथा सुस्मिताले भारतकै गीता नर्जिनारीविरुद्ध जित निकाले ।
प्रतियोगितामा समावेश नौ स्पर्धामा नेपाल, भारत र थाइल्याण्डका १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एउटा स्पर्धामा दुई खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो । बाँकी आठ स्पर्धाका विजेता र उपविजेतालाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, नेपाल राष्ट्रिय मुवाँथाईं सङ्घका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक खेलकुद समितिका अध्यक्ष निलम अधिकारीलगायतले पुरस्कार वितरण गरे । रासस








