बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा

जनकपुरधाम, जेठ ६ गते ।

धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले छापा मारेको छ ।

सोमबार गाउँपालिका कार्यालयमा अख्तियारले छापा मारेर अलपत्र र सेटिङका योजनाका फाइल नियन्त्रणमा लिएको हो ।

सेटिङका योजनाहरू अलपत्र सम्बन्धी समाचार सार्वजनिक गरेपछि अख्तियारले कागजातहरू उपलब्ध गराउन पटक(पटक पत्राचार गरे पनि कार्यालयले अटेर गरेको थियो ।

सोमबार अख्तियारको टोली नै कागजात नियन्त्रामा लिन पुगेको थियो । तर, फाइल राखेको दराजको साँचो डेढ महिना अघि भ्रष्टाचार मुद्दा विशेषमा दर्ता भएपछि निलम्बित लेखाअधिकृत सुमनपुरीसँग रहेको भन्दै कर्मचारीहरूले दिन मानेका थिएनन् ।

अख्तियारका एक कर्मचारीका अनुसार झन्डै चार घण्टासम्म कागजात नदिएपछि दराजको ताल्चा फुटाएरै कागजात लग्ने चेतावनी दिएपछि खोलेर फाइल दिएको थियो ।

अनियमितताको कारण कर्मचारीले काम नगर्न मानेपछि चार वर्षदेखि अलपत्र परेका गाउँपालिका कार्यालय अगाडिको अधुरो महादेव मन्दिर, वडा नं।–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयको चार कोठे अधुरो भवन लगायत आधा दर्जन बढी योजनाको फाइल अख्तियारले नियन्त्रणमा लिएको कार्यालयका एक कर्मचारीले बताए ।

तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको कार्यकालको अन्ततिर आर्थिक वर्ष २०७८र७९ मा प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी, लेखाअधिकृत पुरीले मिलेमतो गरी रौतहटको आर्यन कन्ट्रक्सनलाई सेटिङमा टेन्डर र कोटेसन मार्फत झन्डै एक दर्जन योजना दिएको थियो ।

वडा नं। २ स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको आठ कोठे भवन, पालिकाको प्रशासनिक कार्यालयको दोश्रो तल्ला, पालिका अगाडिको दलित बस्तीको बाटोको पीसीसी ढलान, वडा नम्बर २ को धुमासन टोलमा बाटोमा पिसीसी ढलान, पाटोटोलमा सार्वजनिक दलान, वडा नम्बर ३ मा दलितको घर लगायतको काम आर्यन कन्ट्रक्सनले गरेको थियो ।

सेटिङका योजनाहरूको काम हतारहतार जथाभावी गरे पनि मन्दिर र लक्ष्मी माविको भवन अलपत्र परेको थियो । जनप्रिय माविको भवन भने पालिका अध्यक्षमा रामअशिष महतो निर्वाचित भएर आएपछि सोही कन्ट्रक्सनबाट गरिएको थियो ।

आर्यन कन्ट्रक्सनलाई टेन्डरका योजनाहरू एक प्रतिशतसम्म समेत बिलो कटेको छैन । सेटिङका योजनाको काम पालिकाका बहालबाला इन्जिनियर जितेन्द्र यादवलाई जिम्मेबारी विहीन बनाएर करारमा इन्जिनियर शौरभ कुशवाहालाई राखेर बर्दिबासबाटै कागजात तयार पार्ने काम भएको थियो । अनलाइनखबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको