पब्लिक सन्देश
गौशाला, जेठ १७ गते ।
मधेश प्रदेश सरकारले एक निर्वाचन क्षेत्र, एक सडक योजनाअन्तर्गत ८ वटै जिल्लामा ६४ वटा कालोपत्रे सडकको निर्माण थाल्ने भएको छ ।
शनिवार भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा १२ अर्ब ७० करोडको लागतमा निर्माण हुने पक्की सडक निर्माण हुने जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले सडक शिलान्यास र प्रधानमन्त्री ओलीको जनकपुर भ्रमणको सबै तयारी पूरा भएको जानकारी दिए ।
आइतबार जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ वटै सडकको एकैसाथ डिजिटल शिलान्यास गर्दैछन् ।
पत्रकार सम्मेलनमा मन्त्री यादवले मधेशका ८ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रमा साढे ५ देखि ७ मिटरसम्मको कालोपत्र सडकका लागि स्रोत सुनिश्चित भइसकेको बताए ।
‘सडक निर्माणका लागि स्रोत सुनिश्चितता भएर निर्माणको प्रक्रिया अगाडि भइसकेको छ । ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयमार्फत भइसकेको छ । सडकको निर्माणकार्य तीन वर्षभित्र पूरा गरिने छ’, मन्त्री यादवले भने ।
कुल ३२० किमी सडकमध्ये पहिलो चरणमा २०० किमी सडकको निर्माण भइसकेको मन्त्रालयका निमित्त सचिव सञ्जयकुमार साहले जानकारी दिए । अब निर्माण गरिने सडकमध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्र गरिने उनले बताए । सडकको चौडाइ साढे पाँचदेखि सात मिटरसम्म हुनेछ ।
यस्तै, आठवटै जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक–एक वटा पक्की पुल निर्माण गरिने गरी प्रक्रिया अगाडि बढाइएको पनि मन्त्रालयले जनाएको छ ।








