जनकपुरधाम, जेठ १८ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो नेतृत्वको सरकारले मधेशको विकास तथा समृद्धिका लागि गम्भीरतापूर्वक काम गरिरहेको बताएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको आईतवार जनकपुरमा आयोजना गरेको एक निर्वाचन क्षेत्र एक सडक (दोस्रो चरण) शिलान्यास कार्यक्रममा उनले सङ्घीयताको रक्षा गर्न मधेश सबैभन्दा अगाडि रहेको दाबी गर्दै यहाँका जनता सदैव सङ्घीयताको पक्षमा रहेको स्पष्ट गरे ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारको सीमित साधनस्रोत तथा बजेटका बाबजुद १२ अर्ब ७० करोडको लागतमा मधेशका ६४ वटा सडक निर्माण सुरु भएको र यसलाई तोकिएकै समयमा सम्पन्न गरिने बताए । उनले प्रदेशको समग्र विकास तथा बेथिति नियन्त्रणमा आफूहरू क्रियाशील रहेको उल्लेख गरे ।
“हामीले कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको विकासमा विशेष जोड दिएका छौँ । आफूले गिट्टी, बालुवाको तस्करी नियन्त्रण र अनुगमन तथा प्रदेशमा कानुनविपरीत सञ्चालित नर्सिङ होम, औषधि पसल तथा निजी अस्पतालको अनुगमन गरी कारबाही गरिरहेका छौँ”, मुख्यमन्त्री सिंहले भने ।
त्यस अवसरमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफू मुख्यमन्त्री हुँदा बेटी बचाउ, बेटी पढाउ तथा छोरी बिमा कार्यक्रम सुरु गरेका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । विगतका प्रदेश सरकारले सुशासन तथा पारदर्शिताका साथै विकास निर्माणका सम्बन्धमा तयार गरेको योजनामा हालको सरकारले कुनै भेदभाव नराखी निरन्तरता दिनुपर्ने उनले आग्रह गरे ।
कार्यक्रम मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।








