सिरहा, जेठ १८ गते ।
सिराहाको धनगढीमाई नगरपालिकाले नगर क्षेत्रका किसानले खेतीपाती गर्न प्रयोग गरेको कृषि मिटरबापतको एक करोड ६० लाख ९८ हजार भुत्तानी गरेको छ । नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरी बक्यौता भुक्तानी गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङका अनुसार नगर क्षेत्रका तीन हजार पाँच सय किसानले उपभोग गरेको कृषि मिटरको बिल विभिन्न कारणले तिर्न नसकेर रोकिएकाले एकैपल्ट तिर्दा बढी रकम भएको हो ।
“विभिन्न कारणले गर्दा यहाँका किसानले खेतीपाती गर्दा प्रयोग गरेको कृषि मिटरको बक्यौता रकम बढ्दै गएको थियो”, उनले भने, “यसअघि ५० लाख तिरिदिने गरी बजेट छुट्याइएको थियो । तर प्राधिकरणले पूरै बक्यौता रकम भुक्तानी गर्नुपर्छ भनेपछि केही ढिला भएको हो ।” वि.सं. २०७९ साउनदेखि २०८१ माघसम्म दुई वर्ष सात महिनाको महसुल भुक्तानी गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए ।
नगर क्षेत्रका किसानलाई प्रोत्साहन तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले नगरपालिकाले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत कृषि मिटरको महसुल भुक्तानी गरेको नगरप्रमुख शिवशङ्कर महतोले बताए । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिइने उनले प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा कृषि मिटरबापतको १८ लाख २२ हजार ६१४ तिरेको थियो ।








