धरानका प्रमुख राजनीतिक दलले प्रचण्डलाई बुझाए ज्ञापनपत्र

काठमाडौं, असार १२ गते ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जसपाका प्रतिनिधिहरूले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ बाट अलग गरी पृथक् चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न पहल गर्न उनीहरूले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने, ‘मैले सरकारमा हुँदा धेरै विश्वविद्यालयहरू स्थापना गर्ने र अगाडि बढाउने काम गरेको छु । सुदूरपश्चिममा गेटालाई यस्तै यस्तै अरू पनि । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरानो र नेपालको पूर्वी क्षेत्रको एक अत्यन्त महत्त्वपूर्ण संस्था हो । तर, यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण विषय हो ।’

प्रतिष्ठानमा पदाधिकारी नियुक्तिमा देखिएको अन्योलता र कार्यक्षमता अभाव दुःखद पक्ष रहेको भन्दै उनले संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए ।

‘तपाईंहरू समाधानको एक स्पष्ट विकल्प लिएर आउनुभएको छ, यो सकारात्मक कुरा हो । तपाईंहरूको यस मागमा म पूर्ण रूपमा साथ रहन्छु,’ उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको