मधेशमा बजेटको त्रुटि छानबिन गर्न उपसभामुखको संयोजकत्वमा १४ कार्यदल पुनर्गठन

पब्लिक सन्देश 
गौशाला, असार २८ गते ।

मधेश प्रदेशको बजेटमा भएको त्रुटि छानबिन गर्न उपसभामुख बविता राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन भएको छ ।

पुनर्गठित समिति सदस्यहरुमा सत्ता पक्षबाट नेपाली कांग्रेसका तर्फबाट सांसद मोहम्मद समिम, जंगीलाल राय, नागेन्द्र साह, एमालेकी सारदा देवी थापा, जनमतका तर्फबाट चन्दन सिंह, सम्भु साह रलोसपाकी रमिता प्रधान छन् ।

यस्तै विपक्षी दलहरुबाट जसपा नेपालबाट रामअशिष यादव, नेकपा एकीकृत समाजवादीबाट कनिष पटेल, नेकपा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा, नेपाल संघीय समाजवादीकी बिमला अन्सारी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीबाट उर्मिला देवी सिंह रहेकी छन् ।

शनिबार नै पुनः बसेको प्रदेशसभा बैठकमा सभामुख मण्डलले बजेटको त्रुटि छानबिन गर्न १४ सदस्यीय कार्यदल बनेको जानकारी सदनलाई गराएका छन् । योसँगै मधेश प्रदेशसभामा लगातारको विपक्षी दलको अवरोध हटेको छ ।

यसअघि बिहीबार सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्य कार्यदल गठन भएको थियो । तर, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यदलमा राखेपछि विपक्षी दलहरुले अस्वीकार गर्दै प्रदेशसभा बैठक चल्न दिएका थिएनन् ।

यसपछि सभामुख मण्डलले शनिबारको बैठकमा कार्यदलको संयोजक पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । विपक्षी दलले सदन अवरोध गरेपछि शनिबारको बैठक १० मिनेटका लागि बैठक स्थगित भएको थियो ।

यसबीचमा सर्वदलीय बैठक बसेर उपसभामुखको संयोजकत्वमा बजेट त्रुटि छानबिन समितिका विषयमा सहमति भएको हो ।

सभामुख मण्डलले यसअघि बसेको बैठकमा कार्यदलमा मन्त्री रहने अभ्यास नरहेको, तर कार्यदलमा सरकार अल्पमतमा पनि नरहने गरेको बताएका थिए ।

सभामुखको यस अभिव्यक्तिप्रति पूर्वसभामुख तथा पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले आपत्ति जनाएका छन् ।

उनले सभामुखले पदीय मर्यादाविरुद्ध कार्यदलमा सरकार अल्पमतमा रहने अभिव्यक्ति दिएको जिकिर गरे ।

‘सभामुख तटस्थ हुन्छन्, सर्वदलीय बैठकमा आफूसहित ६ जना रहने सहमति अनुसार नै सभामुखको नेतृत्वमा कार्यदल बनेको थियो, तर विपक्षीले मन्त्री राखेको प्रश्न उठाउँदा सभामुखले कार्यदलमा सरकार अल्पमतमा परेको अभिव्यक्ति दिनु पदीय मर्यादाविरुद्ध हो, किन भने सभामुख तटस्थ हुन्छन्,’ उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको