पब्लिक सन्देश
गौशाला, साउन ३ गते ।
महोत्तरीको मटिहानी नगरपालिकाले विद्यार्थीलाई प्रविधिसँग जोड्ने उद्देश्यले प्राविधिक धारका २७ जना विद्यार्थीहरुलाई ल्यापटप वितरण गरेका छन् ।
मटिहानी नगरपालिका वडा नं. ८ स्थित श्री राम माध्यमिक तथा प्राविधिक विद्यालयमा अध्ययनरत कक्षा ११ का २७ जना विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ।
शैक्षिक सत्र २०८१/०८२ मा प्राविधिक शिक्षामा नामाङ्कन गरिएका विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने उद्देश्यले ल्यापटप वितरण गरिएको नगर प्रमुख हरिप्रसाद मण्डलले बताए ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रूपमा विद्यार्थीहरुलाई ल्यापटप वितरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका अध्यक्ष ठाकुरले भने, “देशको विकासका लागि युवाहरूलाई प्राविधिक शिक्षामा अगाडि बढाउनु आवश्यक छ। ल्यापटप वितरण जस्ता कार्यक्रमले विद्यार्थीमा नयाँ सोच र उत्साह थप्नेछ।”
यस्तै, मन्त्री भण्डारीले विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा जोड्नु भनेको देशको दक्ष जनशक्ति निर्माणमा सहयोग पुग्ने ठोस आधार भएको बताए ।
यस्तै, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले यस्तो प्रविधिमैत्री पहलले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षातर्फ आकर्षित गर्ने बताउँदै विद्यालय र नगरपालिकाको सहकार्यमा अझ प्रभावकारी योजना अगाडि बढाउने आश्वासन दिईन् ।
नगर प्रमुख हरि प्रसाद मण्डलले ल्पटप पाएका प्राविधिक धारका विद्यार्थीलाई प्रविधिसँग जोड्ने कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य जैनुल राइन, महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उप–अनुसन्धान निर्देशक चन्दन झा, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा लगायत अभिभावक, विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।








