सुक्खा मधेश : बजेट रकमान्तरण गरी सिँचाइ गरिने कृषिमन्त्रीको दाबी

राजु चौधरी 
काठमाडौँ, साउन ८ गते ।

बढी धान फल्ने मधेशमा साउन पहिलो साता लाग्दा रोपाइँ आधा मात्रै भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । तर साउन ४ सम्म १ लाख ७४ हजार ५ सय ८ हेक्टर अर्थात् ४६.८३ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

गत वर्षको सोही अवधिमा झन्डै दोब्बरले रोपाइँ भएको थियो । २०८१ असार साउन ६ गतेसम्म ८०.६ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा धान रोपाइँ नहुनुको प्रमुख कारण सिँचाइ अभाव नै हो । नेपालमा मनसुनमा आधारित खेती प्रणाली हुन्छ ।

मधेशतिर मनसुन सक्रिय नहुँदा पानीको अभाव छ । अभाव भएपछि मधेश प्रदेशलाई सुक्खाग्रस्त घोषण गरिएको छ । धानको राजधानी मानिने मधेशमै रोपाइँ कम भएपछि संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजेट रकमान्तरण गरेर भए पनि सिँचाइको व्यवस्था गरेर रोपाइँको व्यवस्था मिलाउने दाबी गरेको छ ।

‘सरकारले दुई वर्षभित्र धानमा आत्मनिर्भर हुनेगरी काम गरिराखेको छ । सोहीअनुसार घोषणा भयो, तर मधेशमा खडेरी परेर जात्रा छ । मधेशका ८ जिल्लाबाहेक अन्य जिल्लामा पनि समस्या आएको छ, खडेरीको अवस्था छ । तर खेत बाँझो नराखौँ, जे उत्पादन हुन्छ, सोही बाली लगाऔँ,’ कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भने, ‘यस विषयमा सरकार गम्भीर छ । १०र२० करोड खर्च गर्दा सिँचाइ सुविधा भए मन्त्रालयको बजेट रकमान्तरण गरेर पनि सिँचाइ गरेर रोपाइँको व्यवस्था गर्छौं ।’

मौसमले साथ नदिए पनि किसानलाई जुनसुकै अवस्थामा आत्मानिर्भर बनाउन प्रयत्न भइराखेको उनले जनाए । ‘कृषि मन्त्रालय एक्लैले निर्णय गर्न सके धेरै काम हुन्छ । तर यहाँ जमिन बाँझै छ, सिँचाइको अभाव छ । भूमि, सिँचाइ, अर्थदेखि उद्योग वाणिज्य मन्त्रालयसँग पनि समन्वय गर्नुपर्छ,’ मन्त्रालय र मातहतका निकायबाट भएका प्रमुख कार्य र उपलब्धि सार्वजनिक गर्दै कृषिमन्त्री अधिकारीले भने, ‘प्रभावकारी रूपमा समन्वय नहुँदा समयमै काम हुन सकेन । सबै मन्त्रालय मिले दुई वर्षभित्र सबै बालीमा आत्मानिर्भर हुन सकिन्छ । तर विडम्बना कृषिले एक्लै गर्न सकेन ।’

मन्त्री अधिकारीका अनुसार मधेश प्रदेशका ८ जिल्लामा सुक्खाका कारण धान रोपाइँ हुन नसकेपछि ८ वटै जिल्लामा टोली खटाइएको छ । अध्ययन टोलीले हालको अवस्था, समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्यन गरिराखेको छ । सिँचाइ संरचनालाई पूर्ण रूपमा सञ्चालन गरी, सिँचाइका लागि अन्य विकल्प के(के हुन सक्छन् भनेर सम्बन्धित निकायसँग छलफल गरी तत्कालीन र दीर्घकालीन निर्णय गरिने मन्त्री अधिकारीले जनाए ।

बारा र पर्सा मा अध्ययन गरिररहेका वरिष्ठ कृषि तथा अर्थ विज्ञ मणिरत्न अर्यालले पालिका, सरोकारवाला निकायसँग छलफल गरिराखेको जनाए । बारा र पर्सामा गण्डक नहरको स्रोतबाट धेरै सिँचाइ गर्न सकिए पनि समयमै सरसफाइ नहुँदा पानी अभाव भएको जनाए । ‘गण्डक नहरको स्रोत भारत हुँदै फैलिएको छ । भारततर्फ करिब ८र१० किलोमिटर पर्छ । त्यसलाई समयमै सरसफाइ नगर्दा समयमै सतही सिँचाइ हुन सकेन,’ कान्तिपुर टिभीसँगको अन्तर्वार्तामा सोमबार उनले भने, ‘नेपालसँग सम्झौतामा जति क्षमताको पानी भनिएको छ, त्योअनुसार नआउँदा पानी अभाव भएको देखिन्छ ।’

त्यस्तै, भूमिगत सिँचाइबाट पनि केही व्यवस्था गर्न सकिने उनले जनाए । बारा र पर्सामा शनिबार आइतबार पानी परेकाले केही रोपाइँ भएको उनले बताए । ‘पानी परेपछि केही सिँचाइ भएको देखिन्छ । दुई जिल्लामा करिब ७० प्रतिशत रोपाइँ भएको देखियो,’ अर्यालले भने, ‘समयमै वर्षा नहुदा रोपाइँ भएको देखिएन ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको