मटिहानीको पौराणिक झुलानोत्सव पर्व सुरु

जलेश्वर, साउन १३ गते ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइँदै आइएको पौराणिक झुलनोत्सव पर्व सुरु भएको छ ।

आईतवारदेखि आगामी पूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन साँझपख कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजन कीर्तन गर्दै झुलाघरमा लगिन्छ भने अबेर रातिसम्म झुला झुलाइन्छ ।

महोत्तरीको लक्ष्मीनारायण मठ, धनुषाको जनकपुरधामस्थित राममन्दिर र जानकी मन्दिर, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठ मन्दिरमा झुलापर्व धुमधामका साथ मनाइने परम्परा छ । झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको कुरा लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ रविन्द्रदास वैष्णवले बताउनुभयो ।

भगवान् रामसीता साउन महिनामा यसैगरी झुलाझुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । सो झुलाका अवसरमा मटिहानीमा मेलाकोसमेत आयोजना गरिएको छ । मिथिला क्षेत्रमा साउन महिनाको दोस्रो साता चढेपछि झुलापर्वको रौनक सुरु हुन्छ । यस अवसरमा मिथलाञ्चलको प्रत्येक मठ मन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ ।

झुलापर्व त्रेतायुगदेखि प्रारम्भ भएको जनविश्वास रहिआएको वैष्णवले बताए । उनका अनुसार जोगी सन्यासीले आफ्ना आराध्य खेलाई झुलाउने परम्परा छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रूपमा मनाइने गरिएको जलेश्वर नगरपालिका–५ का संस्कृतविद् ध्रुव रायले बताए । पन्ध्र दिनसम्म चल्ने यस झुलनोत्सवका अवसरमा मटिहानीको घर घरमा पाहुनासमेत आउने र झूलापर्व तथा मेलामा सहभागी हुने गरेको मटिहानी नगरपालिका–६ का दीपेन्द्र मण्डलले बताए ।

मटिहानीका झुलापर्वको आकर्षणका लागि त्यहाँ सर्वसाधारण बालबालिकालाई पनि झुलाको आनन्द लिन मेसिनमा चल्ने झुलाका साथै ठूलो मेलाको आयोजना गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको