पर्सा, साउन १४ गते ।
मधेश प्रदेश जेष्ठ नागरिक संघको अधिवेशन आज पर्सा जिल्लाको बीरगंजमा सम्पन्न भएको छ।
अधिवेशनको उद्घाटन सत्र संघका संयोजक जगदीश शर्माको अध्यक्षता र मधेश प्रदेश सरकारका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उद्घाटन सत्रमा मन्त्री जयसवालले जेष्ठ नागरिकप्रतिको कदर र सम्मान समाजको कर्तव्य भएको उल्लेख गर्दै प्रदेश सरकारले जेष्ठ नागरिकहरूको हितमा नीतिगत तथा व्यवहारिक पहल गरिरहेको बताए। उनले संघले समाजमा अनुशासन, ज्ञान र अनुभवको आदान९प्रदानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
यस अधिवेशनबाट संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। विजय किशोर झा (रौतहट) संघको प्रदेश अध्यक्ष चयन भएका छन्। अन्य निर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्षमा भरत मल्ल (बारा) महिला उपाध्यक्ष ज्योति शाह (पर्सा) महासचिवमा सूखचंद्र लाल कर्ण (धनुषा), कोषाध्यक्षमा रविन्द्र प्रसाद सिंह (सर्लाही), सचिवमा राम नरेश सिंह (सप्तरी), उपकोषाध्यक्षमा राजेश्वर ठाकुर (महोत्तरी), सदस्यहरूमा सलमा नेशा खातुन (सर्लाही), महेश्वरलाल कर्ण (रौतहट) लगायतका रहेका छन्।
यस अधिवेशनले मधेश प्रदेशका विभिन्न जिल्लाबाट जेष्ठ नागरिकको प्रतिनिधित्व समेट्दै एक समावेशी र अनुभवसिद्ध नेतृत्वको संरचना प्रस्तुत गरेको छ। महिला उपाध्यक्षको चयनले लैङ्गिक समावेशिताको संकेत गरेको छ भने विभिन्न जिल्लाबाट चयन भएका पदाधिकारीहरूले संघलाई प्रदेशभर सशक्त रूपमा विस्तार गर्न सक्ने सम्भावना देखिएको छ। प्रदेश अध्यक्ष झाले न्युज कारखाना संग कुरा गर्दै जेष्ठ नागरिकको हकमा अहोरात्र खट्ने प्रतिवद्धता जनाएका छन्।
जेष्ठ नागरिक संघहरूले समाजमा अनुशासन, सामाजिक चेतना, अनुभवको हस्तान्तरण, तथा युवापुस्तामा मार्गदर्शनको भूमिका निर्वाह गर्न सक्छन्। मधेश प्रदेशको सन्दर्भमा, जहाँ सामाजिक संरचना अझै परम्परागत मूल्यमान्यतामा आधारित छ, त्यहाँ यस्ता संघहरू सामाजिक संवाद र सहकार्यको महत्त्वपूर्ण माध्यम बन्न सक्छन्।
प्रदेश सरकार र संघबीच सहकार्य बढेमा नीति निर्माणदेखि सेवाप्रवाहसम्म जेष्ठ नागरिकका लागि थप सशक्त कार्यक्रमहरू ल्याउन सकिने सम्भावना रहेको छ।








