पब्लिक सन्देश
गौशाला, साउन १७ गते ।
साउनमा पनि सुख्खाग्रस्त मधेसमा पछिल्लो २४ घण्टामा राम्रैसँग वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार धनुषा जिल्लाका दुई स्थानमा पछिल्लो २४ घण्टामा भारी वर्षा मापन भएको हो।
महाशाखाले २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै वर्षा भए त्यसलाई भारी वर्षा भन्ने गरेको छ।
महाशाखाका अनुसार यस अवधिमा सबैभन्दा धेरै वर्षा धनुषाको तुलसीमा मापन भएको छ। त्यहाँ ६३.८ मिलिमिटर वर्षा भएको हो।
त्यसैगरि धनुषाकै हर्दिनाथमा ५१, रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको छ। मधेस प्रदेशका सर्लाही, महोत्तरी लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
आज गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरि कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यदि २४ घण्टामा १० मिलिमिटर भन्दा कम वर्षा भयो भने त्यसलाई हल्का वर्षा भनिन्छ।
त्यसैगरि २४ घण्टामा १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई मध्यम वर्षा भनिन्छ। त्यसैगरि ५० देखि सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्ने गरिएको छ।
यदि २४ घण्टामा एकसयदेखि दुईसय मिलिमिटरसम्म वर्षा मापन भयो भने त्यसलाई धेरै भारी वर्षा भन्ने गरिएको छ।
नेपालमा कतिपय बेला २४ घण्टामा २ सय मिलिमिटर भन्दा पनि धेरै वर्षा हुने गरेको छ। यदि दुईसय मिलिमिटर भन्दा धेरै वर्षा भए त्यसलाई अति भारी पानी परेको भन्ने गरिएको छ। नेपालखबर








