क्यानडा, साउन २३ गते ।
क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित कमेडियन कपिल शर्माको क्याफेमा फेरी गोली हानाहान भएको छ ।
मिडिया रिपोर्टका अनुसार बिहीबार बिहान ८५ एभिन्यू र स्कट रोडमा रहेको यो क्याफेको झ्यालमा कम्तिमा ६ बुलेट प्वाल र टुटेको सिसा देखिएको थियो ।
लरेन्स ग्याङसँग सम्बन्धित गोल्डी ढिल्लनको एउटा पोस्ट भाइरल भइरहेको छ, जसमा उनले कपिलको क्याफेमा भएको गोलीबारीको जिम्मेवारी लिएका छन्, यो पोस्ट कुन सामाजिक साइटमा गरिएको हो ? यो स्पष्ट छैन ।
एक महिनाअघि पनि यहाँ गोली चलेको थियो । त्यसपछि आक्रमणकारीले क्याफेमा ९ राउण्ड फायर गरेका थिए । त्यसपछि खालिस्तानी आतंकवादी हरजीत सिंह लड्डीले आक्रमणको जिम्मेवारी लिएका थिए ।
हिजो साँझ भएको गोली बारीबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी दिएको छैन् तर सरे प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ ।
स्थानीय बासिन्दा बब सिंहले सञ्चारमाध्यमलाई भने, ‘मैले आफ्नो घरबाटबाट हेरेँ र पाँच–छ वटा गोली चलेको आवाज सुनें । यसपछि प्रहरी आयो ।’
कपिल शर्माले तीन दिनअघि आफ्नो क्याफेमा भएको गोलीकाण्डमा पहिलो पटक प्रतिक्रिया दिएका थिए । कपिलले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा सरेका मेयर ब्रेन्डा लोके र प्रहरीलाई धन्यवाद दिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘हामीलाई माया र समर्थन देखाउन आएका सबै अधिकारीहरूलाई धन्यवाद । हामी हिंसाको विरुद्धमा एकजुट छौं ।’ कपिलले आफू र आफ्नो परिवार नडराउने र शान्ति र सुरक्षाको पक्षमा दृढ भएर उभिने स्पष्ट पारेका छन् ।






