गौशाला, भदौ १४ गते ।
जनकपुरमा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।
घाइते हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन् । उनको दुवै घुँडामा गोली लागेको छ । घुँडामा गोली लागेका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
यस्तै झडपमा ७ जना प्रहरी र केही सर्वसाधारण समेत घाइते भएका छन् । घाइते सातजना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएको जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा शनिवार झण्डाचोकमा रहेको टावरलाईट जडान भएको पोलमा लगाएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप भएको थियो । त्यस क्रममा ११ सेल अश्रु ग्यास प्रहार गरिएको थियो ।
अवस्था हिजैदेखि तनाव गहस्थ रहेको छ । डीएसपी सिंहका अनुसार आईतवार दुवै पक्षका भलादमी प्रहरी प्रशासनबीच सोचोकमा रहेको दुवै समुदायको झण्डा हटाउने सहमति भएको थियो । सो हटाउने क्रममा विवाद बढेपछि प्रहरीले गोली र अश्रुत ग्यास प्रहार गरेका छन् ।








