सुन्तला करिब चार करोड मूल्यबराबरको बिक्री

म्याग्दी, फागुन ६ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट रु तीन करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको जानकारी दिए ।

वडा नं. १ दोवामा ७० लाख, वडा नं. २ भुरुङ–तातोपानीमा ३९ लाख, वडा नं. ३ दानामा २१ लाख, वडा नं. ४ नारच्याङमा १० लाख, वडा नं. ६ घारमा ६० लाख र वडा नं. ७ हिस्तान दोसल्ले र औलामा एक करोड ८८ लाख मूल्यबराबरको सुन्तला बिक्री भएको उनले बताए ।

दुई सय जनाभन्दा बढी किसानले न्यूनतम ५० हजारदेखि २० लाख मूल्यबराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले रु २० लाखको सुन्तला बिक्री गरिएको छ ।

अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन् । गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताए ।

दोसल्लेका किसानले प्रतिकिलोग्राम २०० सम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको