हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ, चैत ३ गते ।

गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८ बजेबाट सुरु भएको वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थानीयवासीको घरगोठ तथा केही विद्यालयका छाना उडाएको हो ।

हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित छोर्तिपास्थित एउटै टोलका १५, सोही नगरपालिकाको बाहुनीडाँडा र धितुङका स्थानीयवासीको २५ घरको छाना उडाएको जानकारी प्राप्त भएको नगरप्रमुख बिमला राईले बताएको छ ।

सोही नगरपालिकाको वडा नं. ८ धितुङका छविलाला सार्की, कमलबहादुर सार्की र मानबहादुर सार्कीको घरको छानो हावाहुरीले उडाएको बताइएको छ । हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन गर्न सम्बन्धित वडा कार्यालयबाट जनप्रतिनिधिसहितको टोली परिचालन गरिएको नगरप्रमुख राईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार रावाबेँसी गाउँपालिका–१ कुभिण्डे हरमटारस्थित युवराज भट्टराईको घर, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका केशव पराजुली, कुमार श्रेष्ठ, रमेश श्रेष्ठ तथा दिक्तेल रुपाकोट मझुवागढी–७ दोर्पाका सुनसरी राई, सोही नगरपालिका–३ बाम्राङका पदमबहादुर कटुवालको घरको छानो हावाहुरीले उडाएको छ ।

यसरी जिल्लाका धेरै ठाउँमा क्षति भएको जानकारी आए पनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीथ विश्वकर्माले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जापलास्थित जनता आधारभूतलगायत जिल्लाका अधिकांश विद्यालयमा क्षति पु¥याएको सूचना आएको बताए । क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिएको छ ।

असिनापानीसहित चलेको हावाहरीले रुख ढलेकाले जिल्लाका अधिकाशं ग्रामीण सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक सञ्चालनका लागि सम्बन्धित स्थानीय तहका जेसिबी प्रयोगमा ल्याइएको जनाइएको छ ।

हावाहरीका कारण सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेगाहर्जको मुडेमा रहेको रिपिटर टावरमासमेत क्षति पुगेको सञ्चालक समिति अध्यक्ष विष्णुकुमार राईले जानकारी दिएको छ ।

यस्तै, हावाहुरीका कारण गएरातिबाट अवरुद्ध विद्युत् सेवा सञ्चालनमा आएको छ । उदयपुरको जलजले र ओखलढुङ्गाबाट आउने ३३ केभी प्रसारण लाइन विद्युत्मा देखिएको समस्या समाधान गरेपछि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको