काठमाडौं, चैत ६ गते ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
पार्टीका एक पदाधिकारीका अनुसार, आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ ।
बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ ।
गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि गगन भने बैठकमा उपस्थित भएका छैनन् ।
पार्टी महामन्त्री गुरुराज घिमिरेका अनुसार, बैठक आज या भोलि सकिनेछ । बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिने पनि उनले बताए ।
‘यो बैठक आज या भोलि नै सकिन्छ । बैठकले सभापतिको राजीनामाबारे आवश्यक निर्णय लिन्छ,’ उनले भने, ‘अर्को बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्छ ।’
उक्त राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव पनि अघि सार्ने तयारी उपसभापति शर्माले अघि बढाउने तयारी गरेका छन् ।








