निरुता चौधरी
गौशाला, वैशाख ६ गते ।
महोत्तरीको जलेश्वरमा हावाहुरीका कारण टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते छन् ।
जलेश्वर नगरापलिका–९, परकौली आर्मी क्याम्प अगाडि शनिबार साँझ आएको हावाहुरीका क्रममा सडक किनारको रुख टेम्पुमाथि खस्दा रुखमुनी च्यापिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज१घ ४८५० नम्बरको टेम्पोमाथि रुख खसेको थियो । उक्त दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका–२० निवासी करिब ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका–३ निवासी ३३ वर्षीय राहुल मलिक रहेका छन् । दुवै जनाको शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
यस्तै, दुर्घटनामा घाइतेहरुको उपचार जलेश्वर र जनकपुर स्थित अस्पतालहरुमा भईरहेको छ । घाइतेमध्ये टेम्पो चालक जलेश्वर नगरपालिका–११ निवासी ५२ वर्षीय हरेन्द्र ठाकुरको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ, उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।
त्यस्तै, एकडारा गाउँपालिका–३ निवासी ४३ वर्षीया फेकनी देवी मलिकलाई प्रादेशिक अस्पताल जलेश्वरमा सामान्य उपचारपछि थप उपचारका लागि जनकपुर रिफर गरिएको छ, उनको अवस्था पनि गम्भीर रहेको छ ।
यसैगरी, धनुषाको जनकपुर उपमहानगरपालिका–१२ निवासी १७ वर्षीय धिरज मलिकको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ, उनको अवस्था मध्यम रहेको छ । धनुषाकै जनकपुर उपमहानगरपालिका–२० निवासी १४ वर्षीया रिया पण्डित (सकुन्तला देवीकी छोरी) को पनि सोही अस्पतालमा उपचार भइरहेको छ, उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार दुर्घटनापछि केही समय जलेश्वर–जनकपुर सडक खण्ड अवरुद्ध भएको थियो । नेपाली सेना र प्रहरीले सडकमा खसेको रुख हटाएपछि यातायात पुनः सञ्चालनमा आएको उनले बताए ।








