बाघ गणना जारी

रौतहट, जेठ ११ गते ।

बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताएको हो ।

बाघप्रति आमनागरिकले सकारात्मक धारणा बनाए मात्रै बाघको संरक्षण हुने र बाघ भएको ठाउँ सुन्दर जङ्गल भएको हुँदा बाघ मार्ने र बाघसँगको दुस्मनी कसैले पनि गर्न नहुने उनको भनाइ थियो ।

उनले भने “रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकीन नभए पनि यहाँका विभिन्न जङ्गलमा बाघ बस्दै आएको देखिएको छ । लोपन्मुख अवस्थामा रहेको पाटेबाघ छ । लमाहा नदीको माथिदेखि तल्लो क्षेत्रमा, धन्सारको वन क्षेत्रमा, हातेमालो सामुदायिक वन उपभोक्ता समुह र रङ्गपुर साझेदारी वनको सतियारी वनक्षेत्र, गैँडाटारको वनक्षेत्र, बागमतीको जुडिबेला र पौराइको वनक्षेत्र, रामलाल वृन्दावन साझेदारीको वनक्षेत्र, फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको छ ।”

बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल, बाह्रसिङ्गालगायत जनावरलाई आहाराका रूपमा प्रयोग गर्ने उनले जानकारी दिए ।

नेपालमा बाघको सङ्ख्या ३५५ रहेको जानकारी दिनुहुँदै डिभिजन वन प्रमुख साहले रौतहटमा पनि बाघको गणना भइरहेको र केही समयपछि बाघको सङ्ख्या यकीन हुने बताएको छ ।

उनले पाटेबाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे जानकारी दिनुहुँदै बाघले सामान्यतया मानिसबाट टाढा बस्न रुचाउने, तर आत्मसुरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्नसक्ने बताए ।

साहले बाघ संरक्षणको महत्व, चुनौती तथा रौतहटमा बाघको अवस्थाबारे जानकारी दिएको थियो ।

विसं २०७७ असोज १४ गते रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । चन्द्रपुर नगरपालिका नगरपालिका– ६ का २७ वर्षीय सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जङ्गलमा शव फेला परेको थियो । भण्डारीलाई खोज्न गएको दुई युवकलाई पनि सोही समयमा आक्रमण गरी घाइते बनाएको थियो ।

यसैगरी, २०७८ साल असोज २१ गते रौतहटको लमहा जङ्गलमा बाघले आक्रमण गर्दा चन्द्रपुर–६ थोकरटोलका यज्ञबहादुर रायमाझी घाइते भएका थिए । बिहान घाँस लिन जङ्गल गएका रायमाझीलाई राजमार्ग छेउमै बाघले आक्रमण गरेको थियो ।

त्यस्तै, २०८१ मङ्सिर १५ गते रौतहटको गुजरा नगरपालिका–१ का वडाध्यक्ष रामजित चौधरी र बौराही चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

गुजरा–१ राईटोलमा आफ्नै घर नजिक रहेको आलुबारीमा पानी लगाउन गएकाबेला बौराहीमाथि बाघले आक्रमण गरेको देखेर बचाउन गएका गुजरा–१ का वडाध्यक्ष रामजीतलाई झम्टिएर घाइते बनाएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको