तनहुँ, असार ३ गते ।
यहाँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आम्दानी गर्न थालेको छ । नगरपालिकाले विसं २०८२ वैशाख १ गतेदेखि हालसम्म रु २४ लाख ७१ हजार ५५३ आम्दानी गरेको हो ।
फोहरका रुपमा सङ्कलन गरी पुनःप्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।
उनका अनुसार कागजजन्य वस्तु बिक्रीबाट छ लाख २३ हजार १६७, प्लाष्टिकजन्य वस्तु बिक्रीबाट ११ लाख ९८ हजार ५१२, धातुजन्य वस्तु बिक्रीबाट रु तीन लाख नौ हजार १२५, शिशाजन्य वस्तु बिक्रीबाट दुई लाख ७८ हजार ७३६ र लिलामबाट ६२ हजार दश आम्दानी गरेको छ ।
फोहरलाई मोहरमा परिणत गरी विबक्रीयोग्य वस्तु बिक्रीका लागि आर्थिक वर्ष २०८१/८२ मा आवश्यक प्रक्रिया पूरा गरी बोलपत्र आह्वान गरिएको र चालु आवमा साविकको मूल्यमा १० प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको छ ।
फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने र बिक्री गर्न योग्य फोहर विक्री गरी आम्दानी गरिएको लम्सालले बताए ।
‘एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन भइरहेको छ’ उनले भने । फोहर बिक्री गरी आम्दानी हुन थालेपछि नगरपालिकालाई आन्तरिक स्रोत वृद्धिमा सहयोग पुगेको लम्सालले बताए ।
व्यास नगरपालिका–१३ मा सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्ने कार्यको आवश्यक प्रक्रिया पूरा गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्णयका लागि पेस भएकामा हालसम्म निर्णय नआएको उनले बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले फोहर उठाउँदादेखि नै कुहिने र नकुहिने फोहर छुट्याउने र नकुहिने फोहरभित्र पनि विभिन्न सिसा, प्लाष्टिक, कागजजस्ता चिजहरू छुट्टाएर त्यसलाई मेसिनले कम्प्रेस गरी आम्दानी गर्न थालिएको बताए ।
३३ वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएको बताउँदै न्यौपानेले भने, ‘विगतको मेरो कार्यकालमा पनि प्रयत्न गर्दा गर्दै समस्या आयो । जग्गा व्यवस्थापनका लागि नगरपालिका लागिरहेको छ ।’
नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं. २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । रासस








