नदीजन्य पदार्थ उत्खनन रोक

कालीकोट, असार १२ गते ।

कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको हो ।

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य हुँदै आइरहेको र पटकपटकका जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएरमात्र कानुनसम्मत रूपमा उत्खनन तथा उपयोग गर्ने निर्णय भएकामा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

जिल्लाका नौवटै स्थानीय तहहरूलाई कानुन निर्माण गरेर नदीजन्य पदार्थ उत्खनन गर्न पटकपटक ताकेता गरे पनि त्यसको उल्लङ्घन गरेका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्माले बताउनुभयो ।

“ढुङ्गा, गिट्टी, वालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ (पहिलो संशोधन २०७९) को दफा ४ को उपदफा (१६) बमोजिम असार १ गतेदेखि भदौ मसान्तसम्म उत्खनन तथा सङ्कलन कार्य गर्न पूर्ण रूपमा बन्द गरिएको छ”, उहाँले भन्नुभयो, “यो निर्णयको विपरीत हुनेगरी नदी वा खोला क्षेत्रमा कुनै नदीजन्य पदार्थको चोरी निकासी तथा अवैध उत्खनन वा सङ्कलन कार्यरक्रियाकलाप गरेरगराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।”

हिउँदभर स्थानीय तहहरूले आवश्यक कानुन नै नबनाई प्राकृतिक स्रोतको मनपरी दोहन गरिरहेको अवस्थामा वर्षायाममा आउन सक्ने बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिमलाई समेत न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय निर्णय लिएको जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको