पिरोमा लगानी, गुलियो स्वाद

सनद अधिकारी 
चितवन, असार १८ गते ।

स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको उदाहरण प्रस्तुत गरेका छन् ।

खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएड) उत्तीर्ण गरेपछि सुरु गरेको शिक्षण पेसा त्यागेर व्यावसायिक रूपमा गरेको पिरो खुर्सानीखेतीबाट अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी मात्र गरिरहेका छन् ।

गाउँका धेरै युवा तथा स्थानीयलाई रोजगारीसमेत दिएका छन् । दुई दशकभन्दा लामो समयदेखि पुख्र्यौली पेसालाई आधुनिक र व्यवसायीकरण गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्नुभएका श्रेष्ठ यतिबेला जिल्लाकै एक सफल र आदर्श कृषकका रूपमा स्थापित छन् ।

केही समय शिक्षक भएर विद्यार्थी पढाउने श्रेष्ठको दैनिकी अहिले निकै फेरिएको छ । जागिरको सीमित तलब र घेराभन्दा आफ्नै खेतको माटोले बढी सन्तुष्टि दिने महसुस भएपछि उनी शिक्षण पेसा छाडेर पूर्ण रूपमा कृषिकर्ममा होमिएका हुन् । ६ वर्षसम्म शिक्षण पेसामा बिताउनुभएका उहाँ अचेल हातमा कृषि औजार लिएर आफ्नै पिरो खुर्सानीको बगानमा व्यस्त भेटिन्छन् ।

विसं २०५६ देखि नै आंशिक रूपमा तरकारीखेतीमा जोडिएका श्रेष्ठले विगत २०७२ सालदेखि भने व्यावसायिक रूपमा पिरो खुर्सानीलाई मुख्य प्राथमिकता दिँदै आएका छन् ।

उनले अहिले झन्डै २५ कट्ठा जग्गामा बुलेट र लामो जातका खुर्सानीहरू लगाएका छन् । ‘पहिले–पहिले यहाँबाट झन्डै २६ किलोमिटर टाढासम्म साइकलमा तरकारी बोकेर बेच्न जानुपथ्र्यो’, पुराना दिन सम्झिँदै श्रेष्ठ भन्छन्, तर आजकाल त्यस्तो अवस्था छैन, व्यापारीहरू बारीमै आउँछन् र खेतबाटै खुर्सानी तथा तरकारी बिक्री हुन्छ ।’

नेपाली बजारमा भारतीय खुर्सानीको ठूलो दबदबा रहे पनि श्रेष्ठको उत्पादनले बजारमा छुट्टै पहिचान बनाएको छ । भारतीय खुर्सानीको तुलनामा रैथाने उत्पादन ताजा र गुणस्तरीय हुने भएकाले उनको खुर्सानीले बजारमा अन्यको भन्दा बढी मूल्य पाउने गरेको छ ।

उनले उत्पादन गर्नुभएको खुर्सानी चितवनको नारायणगढ, टाँडी, पर्सादेखि राजधानी काठमाडौंसम्म पुग्ने गर्दछ । ‘अरू किसानले यहाँ खासै पिरो खुर्सानी लगाउँदैनन्, त्यसैले मलाई बिक्रीमा कहिल्यै समस्या भएन । कुनै दिन पनि खुर्सानी बिकेन भनेर घरमा थन्क्याएर राख्नुपरेको छैन ।’

गत वर्ष बढी भएर बोटमै पाकेको खुर्सानीलाई सुकाएर रातो बनाई झन्डै एक लाख रुपैयाँको त सुकेको खुर्सानी मात्रै बिक्री गरेको उनले बताए । उनका अनुसार यो १२ महिना नै उत्पादन हुने सदाबहार र खेती गर्न सबैभन्दा सजिलो बाली हो ।

खुर्सानीखेतीबाट श्रेष्ठले लोभलाग्दो आम्दानी गरिरहेका छन् । गत वर्ष मात्रै उनले २५ कट्ठा जग्गाबाट २३ लाख बराबरको खुर्सानी बिक्री गरेका छन् । जसमा मल, बीउ, ज्याला लगायतका सबै खर्च कटाएर उनले १२ लाख खुद नाफा (बचत) गरे ।

कृषिबाट उनले आफ्नो आर्थिक अवस्था मात्र सुधारिएको छैन, स्थानीय तहमा रोजगारी सिर्जना गरेका छन् । उनको कृषि फार्ममा दैनिक १० देखि १२ जना स्थानीयले नियमित रोजगारी पाइरहेका छन् ।

श्रेष्ठले वार्षिक रूपमा १० लाखभन्दा बढी रकम त कामदारको ज्यालामै खर्च गर्ने गरेका छन् । ‘परिवार अनि म आफैं पनि खेतमा खट्छु र गाउँका अन्य दाजुभाइ, दिदीबहिनीलाई पनि काम दिएको छु । उनीहरूले पनि काम पाएका छन्, मलाई पनि फाइदा भएको छ’, उनी भन्छन् ।

तरकारीखेतीकै कमाइबाट श्रेष्ठले आफ्नो पुख्र्यौली सम्पत्तिलाई विस्तार गर्दै व्यवसायलाई अझ फराकिलो बनाएको छ । उनले अहिले कृषकहरूलाई मल–बीउ र परामर्श दिन नवीन एग्रो सेन्टर र राइस एण्ड तोरी मिल सञ्चालन गरिरहेका छन् ।

आफू मात्र नभई उनले गाउँका अन्य किसानलाई आइपर्ने समस्या र प्राविधिक सहयोग समेत गर्दै आएका छन् । बुवाआमा, श्रीमती र दुई छोरीसहितको उनको छ जनाको परिवार अहिले यही कृषिकर्मको बलियो जगमा खुसीसाथ टिकेको छ ।

स्वदेशमा सम्भावना नदेखेर विदेश पलायन हुने युवा पुस्ताका लागि श्रेष्ठ एक प्रेरणाको स्रोत बनेका छन् । आफ्नै माटोलाई माया गरेर पसिना बगाउने हो भने विदेशमा भन्दा बढी आम्दानी र आत्मसम्मान स्वदेशमै पाउन सकिन्छ भन्ने प्रमाणित उनले गरेका छन् । सही योजना र जाँगर चलाउने हो भने नेपालकै कृषिमा भविष्य निकै उज्यालो छ भन्ने कुरा श्रेष्ठको सफलताले प्रमाणित गर्छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको