काठमाडौँ, असार १८ गते ।
ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँबसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको हो ।
काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँबसपार्क क्षेत्रमा यात्रु तान्ने, झोला खोस्ने र अनावश्यक हैरानी दिने गरेको जनगुनासोका आधारमा ट्राफिक प्रहरीले पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा रुपन्देहीका डोलराज सेन, गोरखाका प्रदीप भुजेल, जुम्लाका लोकदर्शन पाण्डे, बाँकेका सन्देश शाही, बाँकेका मिलन भण्डारी, दाङका रमेश खत्री र विकास घर्ती, रोल्पाका किरण पुन, रुपन्देहीका रोहित विक, कास्कीका सन्तोष शाही, डडेलधुराका शिवराज भट्टराई, मुगुका कविराज रोकाय, दाङका प्रकाश खत्री रहेका छन् ।
रुपन्देहीका रवीन विश्वकर्मा, उदयपुरका जितबहादुर मगर, कैलालीका कृष्णप्रसाद कठरिया, दाङका विजय नेपाली, कैलालीका पदम ओली, दाङका रिजन घर्तीमगर, स्याङ्जाका कमल ज्ञवाली, कैलालीका दिपक न्यौपाने, मनोज साउद र प्रेम विष्ट रहेका छन् ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको प्रवक्ता सुवेदीले बताउनुभयो । नयाँबसपार्क क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन तथा यात्रुको सहज आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीले पछिल्लो समय यस्ता अभियान सञ्चालन गर्दै आएको छ । रासस






