धनगढी, असार १८ गते ।
कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका लागि पक्राउ गरेका पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ । गाली बेइज्जती मुद्दामा अदालतबाट एक महिना ७ दिन कैद र १२ हजार रुपैयाँ जरिवानाको सजाय पाएका भण्डारी बिहीबार कारागार चलान भएका हुन् ।
भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को १५५ बमोजिम रकम लिई कैद मिलान गरिपाउँ भन्दै जिल्ला अदालतमा कानुन व्यवसायीमार्फत निवेदन दिएका थिए । तर न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले मागबमोजिमको आदेश दिन अस्वीकार गरेपछि भण्डारी कारागार चलान भएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए ।
उनकाअनुसार उक्त व्यवस्था पहिलोपटक कैद सजाय तोकिएका प्रतिवादीको हकमा मात्र लागू हुने भएकाले भण्डारी यसअघि पनि कैद सजाय भइसकेका व्यक्ति भएकाले सुविधा नपाएका हुन् ।
निर्मला हत्या प्रकरणसँगै जोडिएको मुद्दामा पत्रकार भण्डारीलाई यसअघि एक घण्टा कैद र एक रुपैयाँ जरिवाना भएको थियो ।
पछिल्लो पटक निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसँग जोडिएको विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो ।
भण्डारीलाई एक महिना कैदका साथै १० हजार जरिवाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला पनि भएको थियो । उच्च अदालत दिपायल महेन्द्रनगर इजलाशले ७ दिन कैद र २ हजार एक सय रुपैयाँ जरिवाना थप गरेपछि भण्डारी पक्राउ परेका हुन् ।
निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण विष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । मुद्दा दायर गरेका किरण पनि पत्रकार हुन् । उनी राष्ट्रिय समाचार समितिमा कार्यरत छन् ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपित अहिलेसम्म पहिचान हुनसकेको छैन ।






