नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैन : महासचिव पोखरेल

काठमाडौं, साउन १८ गते ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को गठन र विघटनको गहिरो समीक्षा नगरिकन वामपन्थी एकता गरिए त्यसले कुनै सार्थकता नपाउने बताएका छन् ।

सोमबार २४औँ बोत्ले स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

तत्कालीन नेकपाको गठन र विघटनले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाएको उनको भनाइ छ ।

महासचिव पोखरेलले कम्युनिस्ट दलहरूले नेताहरूका टाउका नभई कार्यकर्ताको भावना जोड्ने कुराको सामर्थ्य राख्न सक्नुपर्ने बताए ।

उनले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुनुको मुख्य कारण नेताहरूबीचको झगडा भएको टिप्पणी गरे ।

उनले नेताहरूबीचको सहमतिलाई मात्रै आधार बनाएर नभई कार्यकर्ताको भावना, नीति र साझा कार्ययोजनामा आधारित एकताले मात्रै आन्दोलनलाई पुनर्जीवित गर्नसक्ने बताए ।

उनले अहिले लोकतान्त्रिक व्यवस्थाका लागि लडेका राजनीतिक दलहरूसँगै लोकतान्त्रिक व्यवस्था समेत संकटमा रहेको बताए ।

उनले जेनजी आन्दोलनको सन्दर्भमा राजनीतिक दलहरूका सोच विभाजित हुँदा मुलुक दुर्घटनाउन्मुख रहेको बताए ।

उनले भने, ‘नेकपाको गठन र विघटन नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाउने एउटा महत्त्वपूर्ण परिघटना बन्यो । जसले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाएको छ । यसको समीक्षा नगरिकन फेरि नेताहरूका टाउका जोडेर वाम एकता र सफलता प्राप्त गरिन्छ भन्ने खालको मान्यता बनायौँ भने त्यसको कुनै सार्थकता हुँदैन ।’

उनले अगाडि थपे, ‘त्यसैले मैले भन्ने गर्छु नेताहरूका टाउका होइन कार्यकर्ताको भावना जोड्ने कुराको सामर्थ्य राख्न सक्नुपर्दछ । त्यसले नै वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्दछ । किनकि आजको वामपन्थी आन्दोलन कमजोर हुनुका पछाडि नेताहरूका बीचको झगडाको हो । त्यसलाई बलियो बनाउने हो भने नेतालाई केन्द्रित गरेर होइन, नीति तथा कार्ययोजनालाई केन्द्रित गरेर वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्ने कुरामा सोच्ने हो भने मात्र आन्दोलनको पुनर्जागरण हुनसक्दछ ।’

मुलुकको लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि लोकतन्त्र स्थापनाका लागि लडेका राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको पोखरेलको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको