सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सुझाव

काठमाडौँ, साउन २९ गते।

नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उनले सरकारका सबै काम कारबाही लोकतान्त्रिक मूल्य र मान्यताअनुसार नै हुने स्पष्ट पारे।

मन्त्री पोखरलेले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको बताए।

विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिए।

छलफलमा सहभागी सम्पादक तथा प्रतिनिधिले सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी बनाउँदै सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुमधुर बनाउनुपर्नेमा जोड दिए। उनीहरूले सरकारी सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबिचको सम्बन्धलाई फराकिलो बनाउन सुझाव दिए।

सम्पादक तथा प्रतिनिधिले सरकार र सञ्चारमाध्यमबिचको प्रभावकारी सम्बन्धले नै लोकतन्त्र र सुशासन प्रवर्द्धनमा योगदान पुर्याउने भएकाले अन्तर–मन्त्रालयका गतिविधि, सरकारी निर्णय तथा सूचनामा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा आवश्यकता औँल्याए।

छलफलमा विद्यालय शिक्षा र उच्च शिक्षालाई व्यावहारिक, वैज्ञानिक तथा जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेको तथा शिक्षा प्रणाली सुधारका लागि विद्यालय शिक्षाको नीतिमा आवश्यक नीतिगत परिवर्तन आवश्यक रहेको उनीहरूको सुझाव थियो। रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको