काठमाडौँ, भदौ ७ गते ।
काठमाडौँ उपत्यकामा आज (आइतबार) हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा विशेषगरी अपराह्नरसाँझपख पानी पर्ने सम्भावना छ।
‘दिउँसो २/३ पछि बादल बढ्दै जाने र विशेषगरी साँझपख हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भनिन्।
त्यसअघि भने काठमाडौँ उपत्यकाको मौसम घाम–बादल, घाम–बादलको अवस्थामा रहने देखिएको उनको भनाइ छ।
मौसमविद् महर्जनका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ६० प्रतिशत देखिएको छ।
देशभरको मौसम अपडेट भने मौसम महाशाखाले अहिले बिहान ८ बजेपछि जारी गर्नेछ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।






