सुर्खेत, भदौ ८ गते ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोका कारण कर्णालीमा तीन मन्त्रीको शपथ रोकिएको छ ।
कर्णाली सरकारमा सहभागी हुने तीन मन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागी तय गरिएको थियो । तर, मन्त्री छनोटमा कुरा नमिलेपछि अन्तिम समयमा शपथ कार्यक्रम नै स्थगित गरिएको हो ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयलाई शपथका लागि समय माग गरेका थिए । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले ११ बजेको समय तोकेका थियो । तर मुख्यमन्त्री शाहीले मन्त्रीको नाम सिफारिस गर्न सकेनन् ।
पछि मुख्यमन्त्री शाहीले नै शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबीच भएको सहमतिअनुसार कर्णाली प्रदेशमा नेकपाले पाएका तीन मन्त्रालय अझै रिक्त छन् ।
एमालेबाट एक साता अघि नै तीन मन्त्री नियुक्त भइसके पनि मुख्यमन्त्री शाहीले आफ्नै दलको किचलो मिलाउन सकिरहेका छैनन् । नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।
नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको २८ बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । आज नेकपा सांसद एवम् पूर्व अर्थमन्त्री विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा रहेको थियो ।
तर साबिक समाजवादी धारले पनि प्रदेशमा आफ्नो भाग खोजेपछि विवाद चुलिएको नेकपाका नेताहरू बताए । ‘साबिकको समाजवादी पक्षले पनि मन्त्रीमा दाबी त गरी नै रहेको छ’ नेकपाका एक सांसदले भने, ‘नेकपाभित्र पनि आकाङ्क्षीको भिड् छ । दलको बैठकबाट टुग्याउनुको साटो मुख्यमन्त्रीज्यूले खल्तीबाट नाम पठाउनु भएछ । त्यसैले विवादित बनेको हो ।’
नेकपामा सक्षमलाई मन्त्री बनाउनुको साटो सबैजसो सांसदहरूलाई मन्त्रीको पालो पुर्याउन खोज्दा विवाद बढेको ती नेताले बताए । ‘मन्त्रीमा सक्षम मान्छेलाई पठाउने होला त ? मूर्तिलाई मन्त्री बनाएर हुन्छ र ? कुरा नमिलेको यहीनिर हो’ ती नेताले भने ।
साबिकको समाजवादीबाट कर्णालीमा एक जना मात्रै प्रदेश सभा सदस्य छन् । तीनैलाई मन्त्री बनाउनु पर्ने साबिक समाजवादी पक्षका नेताहरूले पहल गरिरहेका छन् ।






