काठमाडौं, भदौ ८ गते ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्ने सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन खोजेका छन् ।
संविधान र मानव अधिकारसम्बन्धी नेपालले गरेका प्रतिवद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसद्ले राख्नुपर्ने उनीहरूको तर्क छ ।
गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटनासमेत स्मरण गर्दै सांसदहरूले समयाअनुकुल ऐन परिमार्जन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका हुन् ।
प्रहरीका अनुसार साउन ३१ गते बिहान जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरे टोलकी तीन वर्षीया गरिमा चौधरी एकाएक घरबाटै हराएकी थिइन् ।
गरिमाकी आमा मानमतिले साढे ३ घण्टासम्म नदेखेपछि सिमरा र पथलैया प्रहरीलाई जानकारी गराएकी थिइन् । प्रहरीले खोज्छौं भन्ने जवाफ दिएका थिए ।
त्यसको पर्सिपल्ट बालिकाको शव फेला पर्यो ।
यो विषय उठाउँदै सांसदहरूले बलात्कारीलाई कडा सजाय दिने गरी ऐन बनाउन आवश्यक रहेको बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले भद्रपुर झापा स्थायी घर भई अध्ययनका लागि जापान पुगेकी २५ वर्षीय लक्ष्मी राजवंशीको आफ्नै कोठामा हत्या भएको विषय उठाए ।
हल्दीबारी–२ झापा निवासी कक्षा ७ मा अध्ययनरत १२ वर्षीय रेबिका विश्वकर्मा विगत दुई दिनदेखि बेपत्ता रहेको सुनाए ।
उनको तत्काल खोजीकार्य अघि बढाउन गृहमन्त्रालयको ध्यानाकर्षण गरे ।
‘स्वदेशमा होस् वा विदेशमा हाम्रा छोरीहरू जताततै असुरक्षित छन्’, उनले भने, ‘पीडा कस्तो हुन्छ भोग्नेलाई मात्र थाहा छ । आखिर हाम्रा छोरीहरू कहिलेसम्म लक्ष्मी राजवंशी, निर्मला पन्त र गरिमा चौधरी बन्नपर्ने हो ?’
नीति नियममै भएको समस्याले यस्ता पाशविक घटना बढिरहेका त छैनन भनेर हेर्न आवश्यक रहेको सुझाए ।
‘संविधानको धारा १६ को उपधारा २ ले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ । तर, यसको अर्थ अपराधी र हत्याराको संरक्षण गर्न पाउनुपर्छ भन्ने होइन,’ उनले थपे, ‘हत्यारा बलात्कारी र अपराधीलाई कठोर सजाए नभएसम्म हाम्रा छोरीहरु जताततै नर पिशाचको सिकार बनिरहने छन् ।’
यहाँनेर उनले कडा सजायको विषय उठाए ।
‘मूल कानुनसँग बाझिने गरी मृत्युदण्डको कानुन निर्माण गर्न नपाइने संवैधानिक प्रतिबन्ध होस् वा नेपाल पक्ष राष्ट्र भएका मानव अधिकार सम्बन्धी सन्धि सम्झौता नै किन नहोस् अब परिमार्जन हुनुपर्छ । त्यो ल्याकत यो सदनले राख्नै पर्छ’, उनले भने ।
अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर रासन खुवाउने नभई प्रमाणित भए मृत्युदण्ड दिने कानुन तत्काल निर्माण गर्न प्रस्ताव राखे ।
रास्वपाकी सांसद रञ्जु दर्शनाले छोरीलाई पुज्ने समाजमा छोरी नै असुरक्षित रहेको भनेर विद्यालय स्तरदेखि नै सुधारको प्रयास गर्नुपर्ने बताइन् ।
नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले यस्ता घटना नरोकिएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
कांग्रेसकी सांसद निनुकुमारी कर्णले राज्यले यस्ता घटना नियन्त्रण गर्न सक्नुपर्नेमा जोड दिइन् ।
श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले यो विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरिन् । कठोर सजाय दिएर अन्य घटना हुन नदिन तयार हुनुपर्ने आग्रह गरिन् ।
रास्वपा सांसद हरिमोहन भण्डारीले गम्भीर र जघन्य अपराधमा संलग्नलाई सरकारले पालेर राख्न नहुने बताए । ‘यसका निम्ती जस्तो कानुन चाहिने हो त्यस्तै कानुन बनाउन तयार छौं,’ उनले भने । सरकारलाई कानुन बनाउन कडा विधेयक ल्याउन उनले आग्रह गरे ।
रास्वपा सांसद आशिका तामाङले बलात्कारीलाई सके फासीको व्यवस्था गर्नुपर्ने बताइन् । ‘नसके बलात्कारीले जुन अंगको प्रयोग गरेर बलात्कार गरेको हो उक्त अंगको छेदन गर्नेगरी ऐन बनाउनुपर्छ’, उनले भनिन् ।






