काठमाडौं, भदौ १० गते ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने अटोमोबाइल्समा भन्सार महसुल दर (ट्यारिफ) लगाउने चेतावनी दिएका छन्।
दुई छिमेकी देशबीचको व्यापार युद्ध थप चर्किंदै गएपछि ट्रम्पले यस्तो चेतावनी दिएको बिबिसीले जनाएको छ।
ट्रम्पले सोमबार क्यानडाबाट आयात हुने कार, ट्रक तथा अटो पार्ट्समा लाग्दै आएको २५ प्रतिशत भन्सार दरलाई आगामी जनवरी १ देखि बढाएर ५० प्रतिशत पुर्याउने बताएका छन्।
अमेरिका र क्यानडा बीचको व्यापार वार्ता गत साताको अन्त्यमा भंग भएपछि ट्रम्पको यस्तो चेतावनी आएको हो।
दुवै पक्षले वार्ता भंग हुनुमा एक अर्काले अन्तिम समयमा राखेका अमान्य मागलाई जिम्मेवार ठहराएका छन्।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको पछिल्लो भन्सार दर बढाउने चेतावनीलाई आश्चर्यजनक नभएको बताएका छन्।
उनले ट्रम्प क्यानडाको अटो उद्योग नै ध्वस्त पार्न चाहेको आरोप लगाए। अमेरिकाले सही मनस्थितिका साथ वार्तामा आए क्यानडा पुनः छलफल गर्न तयार रहेको पनि उनले बताए।
अमेरिका र क्यानडाका विभिन्न अधिकारीहरूले वार्ता अनिश्चितकालका लागि स्थगित भएको र पुनः कहिले सुरू हुने भन्ने मिति तय नभएको बताएपछि दुवै देशबीच आरोप–प्रत्यारोप बढेको हो।
क्यानडा शुक्रबार राति अमेरिका सँगको व्यापार वार्ताबाट बाहिरिएको थियो। अमेरिकी पक्षले तोकेको समयसीमा सकिन केही समयअघि क्यानडाले वार्ता छाडेको हो।
उक्त समयसीमा सकिएपछि क्यानडाबाट अमेरिकामा आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका सामानमा ५० प्रतिशत कर लाग्ने भएको हो।






