ओखलढुंगा, भदौ १० गते ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मंगलबार साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो ।
उक्त आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
त्यस्तै ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार नगद जलेर नष्ट हुँदा करिब १४ लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए । रासस






