बाढीले नहर भत्काएपछि पाइपबाट पानी ल्याएर सिँचाइ गरिंदै

जाजरकोट, भदौ १० गते ।

ताक्सुगाडमा आएको बाढीले सिँचाइ नहर भत्काएपछि समस्यामा परेका नलगाड नगरपालिका–१० रोली जिउलाका किसानलाई तत्काल राहत पुग्ने भएको छ। सिँचाइको अभावमा धानबाली प्रभावित हुने अवस्था आएपछि खानेपानी तथा सिँचाइ कार्यालय, जाजरकोटले अस्थायी रूपमा ५०० मिटर पाइप उपलब्ध गराएपछि समस्या हल हुने भएको हो ।

नलगाड नगरपालिका–१० र ११ को बीचमा रहेको ताक्सुगाड खोलामा साउन २९ गते आएको बाढीले सिँचाइका लागि ल्याइएको नहर पूर्ण रूपमा भत्काएको थियो। बाढीले भेरी करिडोरको सडकमा समेत क्षति पुर्‍याउनुका साथै चारवटा घर पूर्ण रूपमा बगाएको थियो। नहर भत्किएपछि रोली जिउलामा रोपिएको धानमा सिँचाइ गर्न समस्या भएको थियो।

समयमै सिँचाइको व्यवस्था हुन नसके धानबाली सुक्ने तथा उत्पादनमा ठूलो असर पर्ने भन्दै स्थानीय किसानले तत्काल वैकल्पिक व्यवस्था गर्न माग गर्दै आएका थिए। बाढीले क्षतिग्रस्त नहर तत्कालै पुनर्निर्माण गर्न कठिन हुने भएपछि अस्थायी रूपमा पाइपमार्फत पानी पुर्‍याउने विकल्प अघि सारिएको हो।

नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावत र उपप्रमुख देवका लामिछानेको निर्देशनमा नगरपालिकाले नहर क्षतिग्रस्त भएपछि आवश्यक संरचना निर्माणका लागि लागत अनुमान (स्टिमेट) तयार गरेको थियो। त्यसपछि नगरपालिकाले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत पाइप उपलब्ध गराउन पहल गरेको थियो।

नगरपालिकाको पहलपछि खानेपानी तथा सिँचाइ कार्यालय, जाजरकोटले ११० एमएमको ५०० मिटर पाइप उपलब्ध गराएको हो। उक्त पाइपलाई क्षतिग्रस्त नहरको वैकल्पिक रूपमा प्रयोग गरी रोली जिउलासम्म सिँचाइको पानी पुर्‍याउने तयारी गरिएको छ।

नगरपालिकाका अनुसार पाइप जडानको काम बुधबारदेखि सुरु हुनेछ। पाइप जडान भएपछि तत्कालका लागि किसानले सिँचाइ सुविधा पाउने र धानबालीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। नहरको स्थायी पुनर्निर्माण नभएसम्म पाइपबाट सिँचाइ सञ्चालन गर्ने योजना बनाइएको छ।

बाढीले नहरसँगै सडक र घरमा समेत क्षति पुर्‍याएपछि उक्त क्षेत्रमा स्थानीयको जनजीवन प्रभावित बनेको छ। ताक्सुगाड खोलामा आएको बाढीका कारण भेरी करिडोरअन्तर्गतको सडकमा समेत क्षति पुगेपछि आवागमनमा समस्या भएको थियो। बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको अस्थायी काम सम्पन्न भएको छ ।

सिँचाइ नहर भत्किँदा सबैभन्दा ठूलो असर कृषि क्षेत्रमा परेको छ। रोली जिउला नलगाड–१० को महत्वपूर्ण कृषि क्षेत्र भएकाले यहाँको धानबाली जोगाउन तत्काल सिँचाइको व्यवस्था गर्नुपर्ने अवस्था थियो। बालीमा पानी पुर्‍याउन नसक्दा किसानले ठूलो क्षति व्यहोर्नुपर्ने जोखिम बढेपछि नगरपालिकाले अस्थायी समाधानका रूपमा पाइपको व्यवस्था गर्न पहल गरेको हो।

नगरपालिकाले पनि पाइपबाट तत्कालीन समस्या समाधान भए पनि दीर्घकालीन रूपमा क्षतिग्रस्त सिँचाइ नहरको पुनर्निर्माण आवश्यक रहेको जनाएको छ। बाढीबाट क्षति भएका अन्य संरचनाको समेत मूल्यांकन गरी क्रमशः पुनर्निर्माण तथा मर्मतको काम अघि बढाउने तयारी भइरहेको छ। सिँचाई सुविधा नहुँदा समस्या परेको समाचार अनलाइन खवरबाट प्रकाशित भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको