गुल्मी, भदौ १५ गते ।
गुल्मीको धुर्कोट गाउँपालिका–५ डुकुर्तिमा आइतबार साँझ टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।
आइतबार साँझ ५ः४० बजे तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु१क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु६प २७२६ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक इस्मा गाउँपालिका–६ अमरपुरका ३२ वर्षीय धनिश्वर बस्नेत गम्भीर घाइते भएका थिए ।
बस्नेतको छाती र अनुहारमा गम्भीर चोट लागेको थियो । मोटरसाइकलको पछाडि सवार धुर्कोट गाउँपालिका–२ का २३ वर्षीय कमल पछाईको बायाँ हातमा सामान्य चोट लागेको थियो ।
दुवै घाइतेलाई जिल्ला अस्पताल तम्घास ल्याइएको थियो। गम्भीर घाइते बस्नेतलाई थप उपचारका लागि पाल्पाको प्रभास रिफर गरिएकोमा आइतबार राति ११ बजे उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेका हुन् ।
बस्नेतको शव सोमबार बिहान करिब ३ बजे जिल्ला अस्पताल तम्घास ल्याई शवगृहमा राखिएको छ ।
टिप्पर चालक प्युठानको गौमुखी गाउँपालिका–२ का ३० वर्षीय जीवन राना मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।






