जिप दुर्घटना हुँदा ७ जना घाइते

बैतडी, भदौ १७ गते ।

बैतडीमा जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ५ बजेको समयमा जिल्लाको सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटना भएको हो ।

जिल्लाको सतबाजबाट रामकीबरायलतर्फ जाँदै गरेको बाप्र.०३१ च ९३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा जिपमा सवार ११ जनामध्ये सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका पवबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

घाइते हुनेमा सुर्नया–२ का ६५ वर्षीय हजारी बिष्ट, सुर्नया–२ कै ३१ वर्षीया सुशीला भण्डारी र ७ वर्षीया दिप्ती बिष्ट, सुर्नया–६ रिगाकी २० वर्षीया दिपिका कुँवर, सुर्नया–५ स्वालीका ३० वर्षीय हरिस विक, ४३ वर्षीय तिलक चन्द र ३० वर्षीय दिपक चन्द रहेका छन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको र हजारी बिष्टको अवस्था मध्यम रहेको बताइएको छ ।

जिप चालक सुर्नया गाउँपालिका–५ रौलेश्वरका २८ वर्षीय रोशन बिष्ट भने दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।

उनको खोजी भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको