काठमाडौं, भदौ १८ गते ।
बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको पावर हाउस साइटमा उद्धार तथा खोजी कार्य जारी छ ।
नेपाली सेनासहितको प्राविधिक टोलीले सुरुङको मुखबाट करिब १५ फिटसम्म थुप्रिएको माटो तथा ढुंगा पन्छाउँदै सुरुङभित्र प्रवेश गर्न सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
तर, सुरुङभित्र थप गेग्रान रहेकाले अझै अगाडिसम्म पुग्ने प्रयासमा उद्धार टोली जुटेको मन्त्रालयले जनाएको छ । उद्धार कार्यलाई निरन्तरता दिँदै सुरुङभित्रको अवस्था पहिचान गर्ने प्रयास भइरहेको छ ।
बाढीपछि सुरुङभित्र जमेको पानी निकास गर्नसमेत कठिनाइ भएको थियो । दिनरात निरन्तर काम गरेर अहिले जमेको पानी निकास गर्न सम्भव भएको मन्त्रालयले जनाएको छ । पानी निकास भएसँगै सुरुङभित्र थप अगाडि पुगेर खोजी तथा उद्धार गर्ने प्रयासलाई सहज हुने अपेक्षा गरिएको छ ।
मन्त्रालयका अनुसार खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन आवश्यक पर्ने कुनै पनि सामान तथा खाद्यान्नको अभाव हुन नदिन विशेष व्यवस्था गरिएको छ । यसका लागि आवश्यक बजेटको प्रबन्ध, सामान प्राप्ति, खर्च तथा त्यसको अभिलेख व्यवस्थापन गर्न एसएमटी बैठकबाट निर्णय भएको छ ।
यसैगरी, नेपाल विद्युत प्राधिकरणको सम्पर्कमा आएका र अझै सम्पर्कमा नआएका सम्पूर्ण कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्ने निर्णय पनि भएको छ ।
सम्पर्क हुन नसकेका कर्मचारी तथा कामदारका परिवारजनको पीरमर्का तथा गुनासो सुन्ने र आवश्यक सहयोग तथा समन्वय गर्ने गरी जनसाधन विभागका निर्देशकको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ ।
बाढीका कारण हालसम्म सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको पावर हाउस साइटसम्म जाने व्यवस्था पनि प्राधिकरणले मिलाएको छ । आफन्तलाई आयोजनास्थलसम्म पुर्याएर त्यहाँको अवस्था बुझ्ने वातावरण बनाइएको जनाएको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण प्राधिकरणको ठूलो क्षति पुगेको थियो।






