त्रिशूली–३ए मा १७० मिटर भित्र पुगे उद्धारकर्मी

काठमाडौँ, भदौ १९ गते ।

भोटेकोशी विपद्को १० औँ दिन सेना र सशस्त्र प्रहरीले रसुवा र नुवाकोटको हाइड्रोपावरको सुरुङहरूमा खोज अपरेसन केन्द्रित गरेका छन् । त्रिशूली–३ ए बाट उद्धारकर्मीले सञ्जय साह र कबीर महर्जनलाई जीवित उद्धार गरे । सो आयोजनाबाट एक जनाको शव निकालिएको छ ।

उनीहरूलाई १७० मिटर भित्रबाट उद्धार गरिएको नेपाली सेनाका महासेनानी झवीन्द्र रेश्मीले जानकारी दिए । त्रिशूली–३ ए मा सेनाले उद्धारकार्यलाई निरन्तरता दिएको छ ।

नुवाकोट स्थित श्री नम्बर–१ सैन्य तालिम केन्द्रमा बसेर खोज तथा उद्धारको समन्वय गरिरहेका महासेनानी रेश्मीका अनुसार सैनिक टोलीले सातवटा टनेलमा खोजी कार्य गरिरहेको छ ।

त्रिशूली–३ बीमा ३० मिटर पर उद्धारकर्मी पुगेका छन् । त्रिशूली–६ बी मा ३० मिटरभित्रबाट माटो र लेदो बाहिर निकाल्ने काम भइरहेको छ । महासेनानी रेश्मीका अनुसार चिलिमे हाइड्रोपावरमा सेना टनेलको १५० मिटर भित्र पुगेको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा पनि उद्धारकर्मीहरूले विभिन्न ठाउँबाट प्वाल बनाएर टनेलमा छिर्ने प्रयास गरिरहेको छ । २१६ मेगावाटको अपर त्रिशूली–१ मा उद्धारकर्मीहरू टनेलको २ सय मिटर भित्र प्रवेश गरेका छन् । त्यहाँ राफ्टमार्फत खोजी भइरहेको महासेनानी रेश्मीले जानकारी दिए ।

रसुवागढीमा उद्धारकर्मीहरू २७५ मिटर भित्र टनेलमा छिरेर खोज तथा उद्धारको काम गरिरहेका छन् ईन्द्रेणीघाटमा तुइन हालेर खोजी कार्य भइरहेको छ ।

नुवाकोटको देवीघाटमा सेनाले तुइन बनाउने काम गरिरहेको छ । देवीघाटमा बेलिब्रिज बनाउने काम पनि सुरु गरिएको छ । रसुवा र नुवाकोटका २१९ ठाउँमा जमिनी मार्गमा फौज परिचालन गरेर खोज, उद्धार तथा राहत वितरणको काम भइरहेको छ ।

शुक्रबार १८ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको महासेनानी रेश्मीले बताए । उनले भने, ‘आज११ पुरुष ७ महिला र एक जना चिनियाँ नागरिकलाई उद्धार गरेका छौँ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको