समयमै उद्धार भएको भए धेरैको ज्यान बच्ने रहेछ : प्रचण्ड

काठमाडौं, भदौ २० गते ।

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार गर्नसकेको भए धेरै जनाको ज्यान जोगिने देखिएको टिप्पणी गरेका छन् ।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् ।

‘हामी सबैका लागि एउटा विचित्रको परिस्थिति छ । हिजो मात्रै १० दिनपछि टनेलमा रहेका दुई जना नेपालीको सकुशल उद्धार हुनु हामी सबैको निम्ति एकातिर सन्तोषको विषय भएको छ,’ प्रचण्डले भने, ‘अर्कोतिर समयमै उद्धार भएको भए अझ धेरैको ज्यान बच्ने रहेछ भन्ने पनि यसले प्रदर्शित गरेको छ ।’

आउने दिनमा मुख्यतस् सरकार अझ बढी जिम्मेवार हुनुपर्ने देखाएको उनले बताए ।

प्राकृतिक विपद् तथा यस्ता आपदामा कर्मचारी र सुरक्षा निकायको झन् बढी सहयोग चाहिने उनले बताए ।

‘कर्मचारी भनेपछि स्थायी सरकारको रूपमा परिभाषित गरिन्छ, विश्वभरि नै । त्यसअर्थमा कर्मचारीहरूलाई अझ बढी प्रोत्साहित गर्नुपर्ने बेला हो यो,’ संयोजक प्रचण्डले भने ।

यस्तो बेला कर्मचारीलाई अझ बढी जिम्मेवार र निष्ठाका साथ काममा लगाउने प्रोत्साहित गर्ने बेलामा देशमा त्यस्तो नभएको उनले टिप्पणी गरे ।

‘आज देशमा त्यस्तो भइरहेको छैन । सबैतिर कताकता अन्योलको, अनिश्चयको भुमरीजस्तो अवस्था देखिन्छ,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर कर्मचारीतन्त्रमा परेको छ ।’

कर्मचारीलाई त्रसित र आतंकित बनाएर करबलले गराएको काम जति प्रभावकारी हुनुपर्ने हो नहुने प्रचण्डले बताए ।

‘अहिले कताकता नेपाली राजनीति पनि, कर्मचारीतन्त्र पनि र सबै राज्यका निकाय अलि बढी अन्योलको अवस्था छ,’ उनले भने ।

राष्ट्रको स्वाधीनता, अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सबै केन्द्रित हुनुपर्ने उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको