मकवानपुर, भदौ २३ गते ।
प्रहरीले मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले २३ गते राति करिब २ः४५ बजे भाबरस्थित भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।
भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा पिकअप गाडी भाग्न खोजेको थियो । त्यसक्रममा प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि कारको सिटमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको १३ पोकामा रहेको १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन् । महतो कार चालक र दोङ पिकअप चालक हुन्।
प्रारम्भिक अनुसन्धानका क्रममा पिकअप चालक दोङले स्कर्टिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको प्रहरीले जनाएको छ ।
गाँजा, दुवै चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






