स्याङ्जा, भदौ २५ गते ।
नेपाली कांग्रेसका सभापति गगन थापा आज स्याङ्जा आउने भएका छन् । कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा आयोजित शोकसभामा सहभागी हुन थापा स्याङ्जा आउन लागेका हुन् ।
श्रेष्ठको राजनीतिक योगदान, लोकतान्त्रिक आन्दोलनमा उनले खेलेको भूमिका तथा पार्टी र स्याङ्जाको सामाजिक–राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरणमा शोकसभा आयोजना गरिएको कांग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालले जानकारी दिए ।
श्रेष्ठको गत साउन १२ गते जावलाखेलस्थित हेलिअस अस्पतालमा क्यान्सरको उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो ।
२०१७ सालदेखि विद्यार्थी अवस्थामै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठ २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रहेका थिए ।
नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका श्रेष्ठ २०४८, २०५६ / २०६४ सालमा स्याङ्जाबाट संसदीय निर्वाचनमा निर्वाचित भएका थिए । उनले उपप्रधानमन्त्रीसहित शिक्षा, भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण र उद्योगमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।






