सर्पले डसेकी एक बालिकाको ज्यान गयो

विराटनगर, भदौ २५ गते ।

समयमा उपचार नपाउँदा सर्पले डसेकी एक जना बालिकाको ज्यान गएको छ । बुधबार बेलुका सर्पले टोकेकी इटहरी उपमहानगरपालिका–५ की अस्मित चौहानकी ८ वर्षीय छोरी आस्वाना चौहानको समयमै उपचार नपाउँदा मृत्यु भएको हो ।

घरमा रहेका बेला बालिकालाई गोमन सर्पले बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको विषय तत्कालै परिवारले थाहा पाएनन् । हातमा रगत देखेपछि थाहा पाएका परिवारले नेपाली सेनाको इटहरीस्थित सर्पदंश उपचार केन्द्रमा लगे ।

तर, सेनाको उपचार केन्द्रमा बालिकालाई एन्टी स्केन भेनम चलाउँदा सघन उपचार कक्ष चाहिने भएकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरियो । इटहरीको उपचार केन्द्रमा बालिकालाई राख्ने सघन उपचार कक्ष थिएन ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु भयो । उनलाई तत्कालै पीआईसीयूमा ९बाल सघन उपचार कक्ष० चाहियो । तर प्रतिष्ठानमा पीआईसीयू खाली थिएन । प्रतिष्ठानमा रहेका चार वटा पीआईसीयू प्याक भएका कारण बालिकालाई भर्ना गर्न मिलेन ।

त्यसपछि अभिभावकले हतारहतर मोरङको बूढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा ल्याए । धरानमा नै बालिकाको अवस्था जटिल बनिसकेको थियो । विराटमा ल्याउँदासम्म बालिकाको अवस्था थप जटिल बन्यो । उपचार सुरु गरेको केही समयपछि बेलुका करिब साढे ८ बजे बालिकाको मृत्यु भयो ।

काका मनिराज चौहानका अनुसार समयमा नै सघन उपचार कक्ष पाएको भए आश्वानालाई बचाउन सकिन्थ्यो ।

‘इटहरीमा उपचार नुहने भनेपछि हतारहतार घोपा पुर्‍यायौं, घोपामा उपचार सुरु भयो । एन्टीभेनम रेडी गरेर हातमा स्लाइन लगाइयो । त्यसपछि उसलाई भेन्टिलेटर आईसीयूमा राखेर उपचार गर्नुपर्छ, हामीसँग छैन भनियो,’ मनिराजले भने, ‘त्यसपछि हतारहतार विराट टिचिङ ल्यायौं । तर, छोरीलाई बचाउन सकिएन ।’

समयमा नै उपचार नपाएका कारण परिवारको सदस्य गुमाएका उनी आफ्नो जस्तो पीडा अरूले नपाउन भन्ने चाहन्छन् । ‘आज मेरो घरमा जे घटना भयो, भोलि अरूको घरमा यस्तो नहोस्,’ उनले भने, ‘राज्यले उपचार कक्ष विस्तार गरिदिनुपर्छ । सरकारी अस्पतालको सेवा सुधार गरिनुपर्छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको