दाङ, भदौ २६ गते ।
दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए ।
मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भुसालको भनाइ छ । ‘मौसमले सेवा अनियमित थियो, अब नियमित हुन्छ’, उनले भने ।
उनका अनुसार अब हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा प्रदान गरिनेछ । हाल हवाई भाडा १२ हजार रुपैयाँ बराबर छ । हवाई सेवा बिहान ९ देखि ११ बजेको बीचमा उपलब्ध हुने भुसालले बताए ।
टरिगाउँमा हाल ७५० मिटरमात्रै धावनमार्ग छ । जहाँ १९ सिटे जहाजमात्रै बस्न सक्छ । कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । सो विमानस्थलमा ठूला जहाज बस्नेगरी धावनमार्ग विस्तारका लागि पटकपटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।
२०११ सालमा स्थापना भएको विमानस्थल विस्तार हुनसकेको छैन । चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । रासस






