काठमाडौं, भदौ २६ गते ।
विपद्मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ ।
महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो ।
लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको महासंघले जनाएको छ ।
बाढीका कारण कृष्णभिरको बाटो कटान भई राजधानी जोडिने राजमार्ग अवरुद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणालीमा ठूलो समस्या पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो कठिन र विषम परिस्थितिमा आम उपभोक्तालाई अनुचित मूल्य लिई ग्यास लगायत उपभोग्य वस्तु बिक्री गर्नु दण्डनीय कार्य भएको महासंघले स्मरण गराएको छ ।
महासंघका कार्यवाहक अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशभरिका आम ग्यास विक्रेतालाई विशेष अपिल समेत गरिएको छ ।
‘प्राप्त भएको ग्यास वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री वितरण गर्न ग्यास विक्रेता महासंघ नेपाल अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस विषम परिस्थितिमा आम उपभोक्तालाई अत्यावश्यक वस्तु उपलब्ध गराउनु सरकार, ग्यास उद्योगी र विक्रेताको मुख्य दायित्व रहेको औँल्याउँदै महासंघले आपूर्ति प्रणाली पुनस् सुरु राख्न हरप्रकारको प्रयास गर्नु सबैको साझा दायित्व भएको बताएको छ ।






