जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

सल्यान, भदौ २७ गते ।

सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा भएको बोलेरो जिप दुर्घटना मृत्यु हुनेको संख्या तीन पुगेको छ । अरु तीन जना घाइते भएका छन् ।

शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रेशम र विपनाको सल्यानमै मृत्‍यु भएको हो भने डिल्लीबहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूमा त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् । प्रहरीका अनुसार उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।

घाइतेलाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको