काठमाडौं, भदौ ३१ गते ।
मन्त्रिपरिषद् बैठकले सेयर कारोबारमा पूँजीगत लाभकर घटाएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा ५ प्रतिशत र दीर्घकालीन अवधिको कारोबारमा नाफाको ३।५ प्रतिशत पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो ।
‘नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३।५ प्रतिशत र ३ सय ६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने’ बैठकको निर्णयमा उल्लेख छ ।
अब यो निर्णय राजपत्रमा प्रकाशन गरेकै दिनबाट कार्यान्वयनमा आउनेछ । हाल ३६५ दिनभन्दा बढी अवधि धितोपत्र होल्ड गर्नेले नाफामा ७।५ प्रतिशत तथा सोभन्दा कम अवधि होल्ड गर्नेले नाफामा १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।
गत बजेटबाट मात्रै पूँजीगत लाभकर ५ र ७.५ बाट बढाएर क्रमशः ७.५ र १० प्रतिशत पुर्याइएको थियो । तर हालै अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजी बजार सुधार कार्यायोजना ल्याउँदै त्यसमा पूँजीगत लाभकर घटाएर ३.५ र ५ प्रतिशत कायम गर्ने उल्लेख गरेका थिए । अर्थको सो प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको हो ।






