जनकपुरधाम, असोज १ गते ।
आर्थिक वर्ष २०८३/०८४ का दुई महिना बित्दासमेत धनुषाको १२ वटा पालिकाको आर्थिक खाता सञ्चालनमा आउन सकेको छैन । भदौ ३१ गतेसम्म धनुषाको १८ वटा पालिकामध्ये ६ वटाको खाता सञ्चालनमा आएको छ ।
खाता सञ्चालनमा आएका पालिकाहरूमा जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, जनकनन्दनी गाउँपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाको खाता मात्र सञ्चालनमा आएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाले जनाएको छ ।
यसबाहेकका पालिकाहरू खाता सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा खाता सञ्चालनमा नआएको कार्यालयले जनाएको छ ।
खाता सञ्चालनको लागि गाउँसभ तथा नगरसभाबाट बजेट पारित, विनियोजन ऐन, अख्तियारी, स्वीकृत वार्षिक कार्यक्रम र जिन्सी निरीक्षण अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ ।
तर, यो प्रक्रिया अन्य पालिकाहरू अहिलेसम्म पूरा गर्न सकेको छैनन् ।
खाता सञ्चाललन हुन नसकेको नगरपालिकाहरूमा मिथिला, क्षिरेश्वरनाथ, मिथिला बिहारी, धनुषाधाम, कमला, नगराइन, हंसपुर, सबैला, सहिदनगर र विदेह नगरपालिका रहेका छन् ।
यस्तै गाउँपालिकाहरुमा बटेश्वर र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको पनि खाता सञ्चालनमा नआएको कार्यालयले जनाएको छ ।






