एजेन्सी, असोज ४ गते ।
यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा शनिबार क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी गरेका छन्।
साउदी राजधानी रियादको मुख्य विमानस्थलनजिकै आगोको ज्वाला र धुवाँको ठूलो मुस्लो देखिएको छ।
हुथीहरूले रियादका संवेदनशील स्थानलाई लक्ष्य गरी आक्रमण गरेको दाबी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उनीहरूले रेड सीको तटीय सहर यान्बुस्थित साउदी तेल कम्पनी अराम्कोको एउटा केन्द्रमा पनि आक्रमण गरेको दाबी गरेका छन्।
यमनको राजधानी सानामा भएको आक्रमणको जबाफमा साउदीको राजधानीमै आक्रमण गरिएको हुथीको दाबी छ।
रोयटर्सले रियादक विमानस्थल जाने सडक, मुख्य टर्मिनल भवन तथा अन्य संरचनाको पृष्ठभूमिमा कालो धुवाँको ठूलो मुस्लो देखिएको तस्बिर र भिडिओ सार्वजनिक गरेको छ।
भिडियोमा इन्धन भण्डारण ट्यांकीजस्ता देखिने संरचनाको पछाडिबाट आगोको ज्वाला निस्किरहेको पनि देखिएको छ।
आक्रमणबाट भएको क्षति वा मानवीय हताहतीबारे तत्काल पुष्टि भएको छैन।
साउदी नेतृत्वको हुथीविरोधी सैन्य गठबन्धनले रियादतर्फ प्रहार गरिएको एउटा मिसाइल आफ्नो हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको जनाएको छ।
गठबन्धनले दक्षिणपश्चिमका बिश र फरासन तथा पश्चिमी सहर ताइफ र लाल सागरको तटीय सहर यान्बुमा सर्वसाधारणलाई लक्ष्य गरी आक्रमण बिफल पारेको पनि दाबी गरेको छ।
साउदी नागरिक सुरक्षा निकायले रियाद र राजधानीको पूर्वमा पर्ने अल(खर्ज क्षेत्रमा सम्भावित हवाई आक्रमणको जोखिमबारे शनिबार बिहानै फोनमार्फत सूचना पठाएको थियो।
पछि खतरा नरहेको सूचना जारी गरिएको थियो।
रियादको ओलाया क्षेत्रमा रहेका रोयटर्सका पत्रकारले उक्त सूचना जारी हुनुअघि विस्फोटका आवाज सुनेका थिए।
जुलाईमा हुथीहरूले साउदी अरबविरुद्ध आक्रमण तीव्र पारेपछि रियादमा भएको यो पहिलो रिपोर्ट गरिएको आक्रमण हो।
हुथीहरूले जुलाईदेखि साउदी अरबविरुद्ध क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएका छन्।
उनीहरूले साउदीविरुद्ध नौसैनिक नाकाबन्दी घोषणा गरेपछि लाल सागरमा साउदी पानीजहाजलाई समेत निशाना बनाउँदै आएका छन्।
हुथी आक्रमणका कारण साउदी सहर, ऊर्जा पूर्वाधार र समुद्री यातायातमा जोखिम बढेको छ।
यसले विश्वव्यापी तेल आपूर्तिमा थप खतरा निम्त्याएको छ।
होर्मुज जलमार्गबाट हुने आवागमन अवरुद्ध रहेका बेला खाडी क्षेत्रबाट तेल निर्यातका लागि लाल सागरको मार्ग महत्वपूर्ण वैकल्पिक बाटो मानिन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरुद्ध प्रत्यक्ष सैन्य हस्तक्षेप गर्न साउदी अरबले गरेको आग्रह अस्वीकार गर्दै आएका छन्।
अमेरिकी विदेश मन्त्रालयले शनिबार मध्यपूर्वमा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई उक्त क्षेत्रमा यात्रा गर्ने वा त्यहाँबाट आवतजावत गर्ने योजना पुनर्विचार गर्न पनि भनिएको छ।
यसैबीच, टर्कीका विदेशमन्त्री हाकान फिदानले हुथी आक्रमण जारी रहेकाले साउदी अरबलाई सैन्य सहयोग आवश्यक पर्न सक्ने बताएका छन्।
पाकिस्तानसमेत सहभागी त्रिपक्षीय रक्षा सम्झौताअन्तर्गत टर्की सहयोग गर्न तयार रहेको उनले बताए। गत महिना भएको उक्त सम्झौतामा तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबैमाथिको आक्रमण मानिने उल्लेख छ।






