साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

म्याग्दी, असोज ५ गते ।

साउदी अरबमा १३ वर्ष सवारी चालकको काम गरेपछि स्वदेश फर्किएका पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले सुरुमा तीनवटा गाईभैँसी किनेका थिए । विदेशको रोजगारी छाडेर गाउँमै थालेको त्यो सानो व्यवसाय अहिले उनको परिवारको आम्दानीको मुख्य आधार बनेको छ । १४ वटा गाईभैँसी पालिरहेका क्षेत्री दूध बेचेरै मासिक एक लाख रुपैयाँभन्दा बढी बचत गर्छन् ।

साउदी अरबमा बिरामी भएपछि स्वदेश फर्किएका क्षेत्रीले अन्य रोजगारीको विकल्प नदेखेपछि विसं २०७३ मा ‘गोमा गाईभैँसी फार्म’ सुरु गरेका थिए । अहिले फार्मबाट दैनिक करिब ९० लिटर दूध बिक्री हुन्छ । दूध बिक्रीबाट दैनिक करिब दुई हजार सात सय रुपैयाँ आम्दानी हुने र दाना, औषधि तथा व्यवस्थापनलगायत खर्च कटाएर मासिक एक लाख रुपैयाँभन्दा बढी बचत हुने उनले बताए ।

दूधसँगै क्षेत्रीले मोही, पनिर र घिउसमेत उत्पादन गरी बिक्री गर्दै आएका छन् । ‘अहिले व्यवसायमा घाटा छैन । मिहिनेत गर्नुपर्छ, त्यसअनुसार आम्दानी पनि हुन्छ’, क्षेत्रीले भने, ‘पहिला पैसा र व्यक्तिगत खर्चका लागि अरूको भर पर्नुपथ्र्यो । अहिले आफ्नै व्यवसायबाट घरखर्च चलाउनुका साथै बचत गर्न सकेको छु ।’

पशुपालनबाट भएको आम्दानीले उनले तीन छोराछोरीलाई विदेश पठाउँदा लागेको ऋणसमेत तिरेका छन् । व्यवसाय विस्तारका क्रममा करिब ६० लाख रुपैयाँसम्म ऋण लागेको भए पनि फार्मबाट भएको आम्दानीले ऋण व्यवस्थापन गर्न सहज भएको उनले बताए ।

फार्ममा क्षेत्री र उनकी श्रीमती गोमा स्वरोजगार छन् भने एक जनालाई रोजगारीसमेत दिएका छन् । कोरोना महामारीका बेला बजारमा दूध पुर्‍याउन नसक्दा उत्पादन खेर गएर घाटा व्यहोर्नुपरेको उनले स्मरण गरे ।

सुरुआती अवस्थामा पशुपालनसम्बन्धी ज्ञान र व्यावसायिक योजना नहुँदा विभिन्न समस्या भोगेका क्षेत्रीले पछिल्लो समय गण्डकी प्रदेश सरकार र दायित्व संस्थामार्फत जलजला गाउँपालिकामा सञ्चालित वृद्धिमुखी उद्यमशीलता विकास परियोजनाबाट प्राविधिक ज्ञान, सीप र अनुदान प्राप्त गरेका छन् ।

तालिम तथा व्यावसायिक ज्ञान हासिल गरेपछि फार्मको व्यवस्थापनमा सुधार आएको उनले बताए । ‘पहिला धेरैले यो व्यवसाय चल्दैन भन्थे । आफूलाई पनि पशुपालनको ज्ञान थिएन’, उनले भने, ‘तर विस्तारै सिक्दै, अभिलेख राख्दै र बजार बुझ्दै गएपछि व्यवसायप्रति विश्वास बढ्यो ।’

फर्से र लस्तीका किसानले उत्पादन गरेको दूध स्थानीय सङ्गम दूध उत्पादन तथा कृषि सहकारी संस्थाले सङ्कलन गरी बागलुङमा बजारीकरण गर्दै आएको छ । सहकारीका सचिव खड्ग केसीका अनुसार ४० किसानबाट दैनिक ६०० देखि ८०० लिटरसम्म दूध खरिद गरी बागलुङ पुर्‍याएर बिक्री गर्ने गरिएको छ ।

जलजला गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ भने प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहकारी संस्थामार्फत प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान दिने गरेको छ ।

क्षेत्रीले फार्ममा गाईभैँसीको सङ्ख्या बढाएर ३० पुर्‍याउने योजना बनाएका छन् । उत्पादन बढाउनुका साथै दूधजन्य परिकारको उत्पादन र बजारीकरण विस्तार गर्ने उनको योजना छ ।

पशुपालन व्यवसायमा दक्ष कामदारको अभाव भने मुख्य चुनौती रहेको क्षेत्रीले बताए । गाईभैँसीको नियमित हेरचाह, दानापानी र सरसफाइका लागि निरन्तर श्रम आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति नपाउँदा समस्या हुने गरेको उनको भनाइ छ ।

विदेशमा बिताएको १३ वर्षपछि गाउँ फर्किएका क्षेत्रीका लागि तीनवटा गाईभैँसीबाट सुरु भएको व्यवसाय अहिले नियमित आम्दानीको स्रोत बनेको छ । वैदेशिक रोजगारीको विकल्प खोज्दै सुरु गरेको पशुपालनले उनको परिवारको आर्थिक अवस्था बदल्नुका साथै गाउँमै स्वरोजगारको आधारसमेत तयार गरेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको