सेनाको सर्पदंश उपचार केन्द्रबाट एक हजार दुई सयभन्दा बढी लाभान्वित

महेन्द्रनगर, असोज ८ गते ।

नेपाली सेनाले कञ्चनपुर र कैलालीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट दुई वर्ष पाँच महिनाको अवधिमा एक हजार २४६ जना लाभान्वित भएका छन् ।

कञ्चनपुरको मझगाउँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणको अर्जुनी ब्यारेक परिसर र कैलालीको बडैपुरस्थित कालीरक्षा गण परिसरमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ ।

कालीरक्षा गणले सर्पदंश उपचार केन्द्रबाट गत वैशाखयता १०६ महिला र ७२ पुरुषको उपचार गरेको सुदूरपश्चिम पृतनाले जनाएको छ ।

सेनाको तथ्याङ्कअनुसार विसं २०८१ मा २६२ जना, विसं २०८२ मा २४६ जना र विसं २०८३ को हालसम्म १७८ जनाको सफल उपचार गरिसकेको छ । सेनाले कैलाली र कञ्चनपुरसहितका जिल्लामा पनि सेनाले विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई सर्पदंशसम्बन्धी चेतनामूलक कक्षा सञ्चालन गरिरहेको छ ।

त्यस्तै कञ्चनपुरको अर्जुनीमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रबाट पनि स्थानीयवासी लाभान्वित हुनुभएको छ । नेपाली सेना र स्थानीय समुदायको संयुक्त व्यवस्थापनमा विसं २०७१ मा स्थापना भएको उपचार केन्द्रले हालसम्म दुई हजार बिरामीको उपचार गरिसकेको छ ।

यहाँस्थित रणसिंह दल गण मझगाउँ ब्यारेकका अनुसार स्थापनाकालदेखि नै उपचार केन्द्रबाट चौबिसै घण्टा सेवा प्रवाह हुँदै आएको छ ।

उपचार केन्द्रलाई औषधि तथा उपकरण बेदकोट र शुक्लाफाँटा नगरपालिका, स्वास्थ्य कार्यालय कञ्चनपुर तथा प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रबाट उपलब्ध हुँदै आएको छ ।

अर्जुनी उपचार केन्द्रमा विसं २०८१ मा २०८ जना, विसं २०८२ मा ६० जना र विसं २०८३ को वैशाखयता हालसम्म ६६ महिला र ४८ पुरुष सर्पदंशका बिरामी लाभान्वित भएका छन् । यता सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले सुदूरपश्चिमका सबै जिल्लामा सर्पदंश उपचार सेवा रहेको जानकारी दिए।

उनले प्रादेशिक र जिल्ला अस्पतालका साथै भौगोलिक रुपले विकट क्षेत्रमा पनि सर्पदंशको उपचारको प्रबन्ध रहेको बताए। “कञ्चनपुरको दोधारा चाँदनीदेखि, बेलौरी, बेल्डाँडीदेखि बैतडीको मेलौरी र गोकुलेश्वरलगायतका क्षेत्रसम्म यसको उपचारका लागि स्वास्थ्य संस्थामा सहजता गरिएको छ।” उनले भने, “पहाडको तुलनामा तराईका जिल्लामा सर्पदंशका बिरामीको चाप गर्मीयाममा बढी रहने गर्छ।” रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको