काठमाडौं, असोज ९ गते ।
जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ । विभागले आजदेखि असोज १२ गते बिहानसम्मका लागि उक्त पूर्वानुमान लागू हुने स्पष्ट पारेको हो ।
विभागका अनुसार कैलालीका गोदावरी, भजनी र घोडाघोडी नगरपालिका तथा मोहन्याल र चुरे गाउँपालिका भारी वर्षाको सम्भावित प्रभाव क्षेत्रका रूपमा रहेका छन् । त्यस्तै, कञ्चनपुरका शुक्लाफाँटा र पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकामा पनि भारी वर्षाको उच्च जोखिम रहेको छ ।
मौसम पूर्वानुमान जारी गर्दै विभागले ती क्षेत्रमा भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिम हुन सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । न्यूज कारखाना






